भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै एस्ट्राजेनेकाले भारतीय उत्पादकलाई कानुनी नोटिस पठायो

कोभिशिल्ड भ्याक्सिनको मुख्य उत्पादक कम्पनी एस्ट्राजेनेकाले यो भ्याक्सिन उत्पादनको जिम्मा लिएको भारतीय साझेदार कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियालाई भ्याक्सिन आपूर्तिमा ढिलाइ गरेको भन्दै कानुनी नोटिस पठाएको छ । सेरम इन्स्टिच्युटमा प्रमुख अदर पुनावाला स्वयंले यसको खुलासा गरेका छन् ।

‘एस्ट्राजेनेकाले हामीलाई कानुनी नोटिस पठाएको छ र यसबारे भारत सरकारलाई पनि जानकारी छ । यो गोप्य भएकोले मैले कानुनी नोटिसबारे सार्वजनिक प्रतिक्रिया दिन सक्दिन । सेरम इन्स्टिच्युटले भारतीय आपूर्तिलाई प्राथमिकता दिनुपर्ने भएकोले विदेशको आपूर्ति समयमा गर्न नसकेको र सम्झौताको शर्त उल्लंघन भएकोबारे कानुनी रुपमा समाधानको बाटो खोज्दैछौं । सरकारले यो समस्या समाधान गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा समीक्षा गरिरहेको छ’ पुनावालाले बिजनेस स्टान्डर्डसँगको एक अन्तरवार्तामा भने ।

अहिले विश्वलाई नै भ्याक्सिनको आवश्यकता भएको र आफ्नो कम्पनीले तत्कालको लागि भारतीय आवश्यकतालाई प्राथमिकतामा राखेको बताउँदै पुनावालाले अहिलेसम्म आफ्नो कम्पनी भारतकै लागि आवश्यक परिमाणको आपूर्ति गर्न समेत सक्षम नभएको बताए । प्रति महिना ६० देखि ६५ मिलियन डोज उत्पादन क्षमता भएको सेरम इन्स्टिच्युटले केन्द्र सरकारलाई १०० मिलियन डोज उपलब्ध गराएको र ६० मिलियन डोज निर्यात गरेको बताए । जूनसम्म अझै उत्पादन बढाउनको लागि कम्पनीलाई थप ३ हजार करोड रुपैयाँ आवश्यक भएको उनले बताए ।

Post a Comment

0 Comments