काठमाण्डू उपत्यकामा एक साता निषेधाज्ञा - के खुल्छ, के बन्द हुन्छ

कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि स्थानीय प्रशासनहरूले काठमाण्डू उपत्यकामा वैशाख १६ गते बिहानदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्।

विभिन्न प्रतिबन्ध लगाइएको आदेश वैशाख २२ मध्यरातिसम्म कायम रहने काठमाण्डू जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

यसअघि बीबीसीसँग कुरा गरेका भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा "लकडाउनजस्तो नहुने" बताएका थिए। 

यसैबीच त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगन गरिएको जनाएको छ। 

सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिडको नयाँ लहरको कारण देखाउँदै सञ्चालन भइरहेका र सञ्चालनको प्रक्रियामा रहेका परीक्षाहरू रोक्ने निर्णय गरेको हो।

के-के रोकियो? 

सोमवार दिउँसो उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञाको प्रारूपबारे छलफल गरेका थिए।  

निषेधाज्ञामा निम्नलिखित गतिविधिमा प्रतिबन्ध लगाइएको छ:

अत्यावश्यकबाहेक सबै सेवा र व्यापारव्यवसाय

सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार

सार्वजनिक र निजी सवारीसाधन चलाउन

सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना

अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा

काठमाण्डू उपत्यका प्रवेश गर्ने व्यक्तिहरू अनिवार्य रूपमा तोकिएका क्वारन्टीन/होम आइसोलेशनमा बस्नुपर्ने आदेश गरिएको छ।  

के निषेध छैन?

खाद्यान्न, फोहोरमैला, स्वास्थ्य, सञ्चार सहितका अत्यावश्यक सेवाका सवारी

औषधि पसलहरू

खाद्य सामग्री पसलहरू (दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म)

डिपार्टमेन्ट स्टोरका ग्रोसरी पसलहरू मात्र बिहान १० देखि साँझ ५ बजेसम्म 

सरकारका कर्मचारीहरू एवं वित्तीय तथा अत्यावश्यक सेवाका कर्मचारीहरूको आवतजावत

सञ्चारकर्मीहरूको आवतजावत

अनुमति लिएर बढीमा १५ जना सहभागी हुने गरी विवाह र ब्रतबन्धजस्ता कार्य गर्न सकिने छ।

त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर  यात्रा गर्न पाउने छन्।

नेपालको स्थिति कस्तो छ?

सरकारले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपालमा थप ३,५५६ जनामा कोभिड-१९ पुष्टि भएको र कोरोनाभाइरससँग सम्बन्धित कारणले थप १२ जनाको मृत्यु भएको थियो।

यसबीचमा काठमाण्डू उपत्यकामा मात्र १,५०० भन्दा केही बढी सङ्क्रमित थपिएको सरकारी विवरण छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा पीसीआर विधिबाट १२,४०० र एन्टिजन विधिबाट ८९३ जनाको परीक्षण गरिएकोमा क्रमशः ३४४२ र ११४ जनामा कोभिड-१९ पुष्टि भएको थियो।  

अहिले देशभरि २२,४३४ जना पुष्टि भएका सङ्क्रमितहरू आइसोलेसनमा छन्। 

Post a Comment

0 Comments