चिनियाँ कोभिड खोप खपत कम भएको हो


 चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम रहेको चर्चा चलिरहेको बेला नेपालमा प्रयोगमा ल्याइएको खोप 'निःसङ्कोच' लगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

गत शनिवार एउटा पत्रकार सम्मेलनमा चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने सुरक्षाको दर उच्च नभएको र तिनको प्रभावकारिता वृद्धि गर्न खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको बताएका थिए।

चीनले अनुदानमा दिएको कोभिड खोपको आठ लाख मात्रा लगाउने कार्य अहिले नेपालमा जारी छ।

नेपालमा प्रयोगमा ल्याइएको भेरो सेल खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म चीनले चारवटा खोपलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।

नेपालमा खोप वितरणको अवस्था के छ?

मन्त्रालयका अनुसार आइतवारसम्म नेपालमा ३१,००० जनाभन्दा बढी मानिसले चिनियाँ खोप लगाएका छन्। सबैभन्दा धेरै काठमाण्डूमा २३,००० जनाले उक्त खोप लगाएका हुन्।

बाँकी खोप रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकमा खपत भएको बताइएको छ।

खोप लगाउनेहरूको सङ्ख्या कम देखिएको विषयमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम भन्छन्: ''हामीले अहिले सीमित जिल्लाहरूबाट मात्रै खोप दिइरहेका छौँ। त्यसमा पनि लक्षित समूहलाई मात्रै खोप उपलब्ध गराइएको छ।"

'विद्यालयबाट नै कोभिड फैलिन सक्छ': सरोकारवालाहरू के भन्छन्

नेपालमा 'फैलिन थालेको' कोरोनाभाइरसको यूके भेरिअन्टबारे पाँच प्रश्न

"सीमित खोप केन्द्रबाट दैनिक झन्डै ५,००० देखि ७,००० जनाले खोप लगाइराखेका छन् जुन राम्रो सङ्ख्या हो।''

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि चीनबाट आवतजावत बढी हुने जिल्ला र काम वा अध्ययनका लागि चीन जानेप्रति लक्षित गरेर खोप दिइएका कारण सङ्ख्यामा कमी देखिएको बताए।

कसले लगाउन पाउँछन् चिनियाँ खोप?

कतिपय मानिसमा चीनमा विकसित खोप बारे संशय रहेकाले खोप लगाउन इच्छुक नदेखिएको भन्ने विवरणका सुन्नमा आएको भए पनि त्यसमा "सत्यता नरहेको" गौतम बताउँछन्।

"खोप उपलब्ध भएका स्थानहरूमा निर्धक्क खोप लगाइरहेका छन्। अन्य कुनै कारणले खोप नलगाएको हामीलाई महसुस भएको छैन।"

गौतमका अनुसार ४० देखि ५९ वर्षका नागरिकलाई चैत्र ३१ देखि वैशाख ५ गतेसम्म उक्त खोप दिन थालिएको छ।

त्यसका लागि विभिन्न जिल्लामा २३ वटा केन्द्र तोकिएका छन्। तर वैशाख १ गते सार्वजनिक बिदा परेकाले खोप वितरण गरिनेछैन।

अहिलेसम्मका लक्षित वर्गलाई निरन्तरता दिई सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई पनि खोप उपलब्ध गराइने स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।

कोभिड खोप वितरणमा किन ढिलाइ?

खोपको सीमित मात्रा रहेको र भेरो सेल खोप लगाइसक्नुपर्ने अवधि पनि लामो भएकाले सरकारले बिस्तारै खोप वितरण गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए।

चीनको सिनोफर्म कम्पनीअन्तर्गत बेङजिङ् इन्स्टिट्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको भेरो सेल खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि गत फागुन महिनामा अनुमति दिइएको थियो।

बीबीसीले प्राप्त गरेको स्वास्थ्य मन्त्रालयको एउटा दस्तावेजका अनुसार उक्त खोप उत्पादन भएको मितिले दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ।

दुई मात्रा लगाउनुपर्ने यो खोपको मात्राबीच अन्तराल चार हप्ता हुनुपर्छ।त्यस्ता खोप भण्डारण र ढुवानी गर्दा २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्नुपर्ने बताइएको छ।


Post a Comment

0 Comments