नेपाल गैँडा गणनाः सङ्ख्या बढ्यो, चितवन र अन्यत्र कतिवटा गैँडा अटाउन सक्छन्



नेपालमा झन्डै तीन साताअघि सुरु भएको राष्ट्रिय गैँडा गणनाको नतिजा सार्वजनिक गर्दै अधिकारीहरूले देशमा उक्त दुर्लभ वन्यजीवको सङ्ख्या ७५२ पुगेको बताएका छन्।

छ वर्षको अवधिमा १६१ वटा गैँडाको मृत्यु भए पनि कुल सङ्ख्या बढेको देख्दा संरक्षणकर्मीहरू उत्साहित भएका छन्। तर संरक्षणका लागि चुनौतीहरू थपिएको उनीहरूको धारणा छ।

अहिलेको गणनाअनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीनवटा गैँडा फेला परेका छन्। तीमध्ये वयस्क ५२० वटा, अर्धवयस्क ९६ वटा अनि बच्चा १३६ वटा रहेको बताइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाको संसारकै दोस्रो ठूलो वासस्थान हो।

भारतको असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जमा १,२०० वटा गैँडा पाइने विश्ववन्यजन्तु कोषले जनाएको छ।

कसरी गरियो गैँडा गणना?

पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापपुरबाट सुरु गरिएको गैँडा गणना २३ दिनमा सम्पन्न भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खरालले बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज तथा गैँडा पाइने अन्य स्थानलाई १९ वटा ब्लक बनाएर गैँडा गणना गरिएको थियो।

गैँडा गणनाका लागि ४० वटा हात्ती र करिब २५० गणक, प्राविधिक र सैनिक खटिएका थिए।

प्रत्येक पाँच वर्षमा गरिँदै आएको गैँडा गणना कोरोनाभाइरसका कारण यसपालि एक वर्ष ढिलो भएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा विगत छ वर्षमा १६१ वटा गैँडा मरेका थिए। तीमध्ये छवटा चोरीसिकारका कारण मारिएको बताइएको थियो।

निकुञ्जमा विभिन्न कारणले गैँडा धेरै मरेको भए पनि कुल सङ्ख्यामा वृद्धि भएको छ।

सङ्ख्या बढेपछि अब संरक्षणमा कस्ता चुनौती?

प्राकृतिक कारणले गैँडाको मृत्यु भएको भए पनि केही छिटफुट घटनाबाहेक चोरीसिकारमा नियन्त्रण तथा वासस्थान व्यवस्थापनबारे संरक्षणकर्ता र राज्यको पनि ध्यानाकर्षण भएकाले सङ्ख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका वार्डन अणनाथ बरालले बताए।

गैँडाको सङ्ख्या बढ्दा संरक्षण अभियानमा चुनौती थपिने अनुमान कतिपयको भए पनि तत्काल कुनै समस्या नहुने धारणा गैँडाविज्ञ नरेश सुवेदीको छ।

चितवनमा सन् २००८ देखि २०१५ सम्म गैँडाको वृद्धिदर पाँच प्रतिशत रहेकोमा अहिले आएर तीन प्रतिशत भएको उनले बताए।

एकैठाउँमा धेरै गैँडा हुँदा जुधेर घाइते हुने तथा मर्ने सम्भावना बढी हुने हुँदा तिनको व्यवस्थापन गर्न आवश्यक भएको बताइन्छ। सुवेदीका अनुसार ३० प्रतिशत गैँडा जुधेर मरेका छन्।

वासस्थान व्यवस्थापन गर्दा घाँसेमैदान विस्तार, घोलको संरक्षण तथा मिचाहा प्रजातिको वनस्पति नियन्त्रण गर्न आवश्यक हुने विज्ञ तथा संरक्षणकर्ताहरूको भनाइ छ।

गैँडाको घनत्व बढी भएको स्थानबाट कम भएको स्थानमा आन्तरिक स्थानान्तरण गर्न सकिने र चितवन राष्ट्रिय निकुञ्जमा ८०० देखि ९०० वटासम्म गैँडा अटाउन सक्ने सुवेदीले बताए।

चितवनमा गैँडाको सङ्ख्या अझ बढ्दै गए बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा पनि स्थानान्तरण गर्न सकिने उनको धारणा छ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १०० वटा र शुक्लाफाँटामा ५० वटा र कोशीटप्पुमा ३० देखि ५० वटा गैँडा अटाउने विज्ञहरूले बताएका छन् ।

तर गैँडा संरक्षणको लागि चोरीसिकार नियन्त्रण र मानिससँगको द्वन्द्व कम गर्नु अतिमहत्त्वपूर्ण मानिन्छ।

नेपालमा कहिले कति गैँडा थिए?

चितवन राष्ट्रिय निकुञ्जका वार्डन अणनाथ बरालका अनुसार पछिल्लोपटक सन् २०१५ को गणनामा नेपालमा कुल ६४५ गैँडा भेटिएका थिए।

नेपालमा गैँडा गणना. कुन वर्ष कति गैँडा थिए. नेपालमा गैँडा गणना .

त्यतिखेर चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीनवटा गैँडा भेटिएका थिए।

विभागको तथ्याङ्कअनुसार नेपालमा सन् १९६५ मा गैँडाको सङ्ख्या घटेर १०० जति पुगेको थियो।

त्यसपछि गरिएका गणनाहरूमा गैँडाको सङ्ख्या निरन्तर बढेको देखिन्छ।

सन् १९५० को गणनामा ८०० वटा गैँडा फेला परेका थिए। त्यसपछि अहिले सर्वाधिक सङ्ख्यामा गैँडा गनिएको हो।

Post a Comment

0 Comments