एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कोभिड-१९ महामारीबीच एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका प्रमुखले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

"सरकारले पनि परीक्षाहरू स्थगित गर्न भनेको छ र पछिल्लो समय कोरोनाभाइरसको बढ्दो सङ्क्रमणका कारण हामीले परीक्षाहरू स्थगन गर्ने निर्णय गरेका हौँ।"

"त्रिसट्ठी जिल्लामा अहिले लकडाउनको स्थिति पनि छ। यस्तो अवस्थामा तत्काल परीक्षाहरू गर्न सम्भव देखिएन," पौडेलले थपे।

पूर्वनिर्धारित तालिका

गत वर्ष पनि कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिइएको थियो।

यो वर्ष आउँदो जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने पूर्वनिर्धारित तालिका थियो।

त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने योजना थियो।

नेपालमा केही सातायता कोरोनाभाइरस सङ्क्रमण उच्च दरमा बढिरहेको पाइएको छ।

सङ्क्रमणमा वृद्धि देखिएसँगै सरकारले विद्यालय तथा विश्वविद्यालयहरूमा भौतिक उपस्थिति सहितका कक्षाहरू सञ्चालनमा रोक लगाइसकेको छ।

आइतवार अपराह्णसम्म देशभरि ८८,००० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवार अपराह्णसम्म काठमाण्डू जिल्लामा २७,६६० जना, ललितपुरमा ६,०१० जना र भक्तपुरमा ३,९१२ जनामा सक्रिय सङ्क्रमण छ।


Post a Comment

0 Comments