प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सहायताको अपील गरेपछि दाताहरूलाई पत्राचार

 


कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ।

नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको 'द गार्डियन' मा प्रकाशित भएको थियो।

त्यसमा धनी राष्ट्रहरूको समूह जी-७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनिएको छ।

प्रधानमन्त्रीको उक्त लेखसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक सहायताको सूचीको विवरण राखेर विकास साझेदारलाई पत्राचार गरेको छ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले नेपालस्थित राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिले कोभिड-१९ को बढ्दो सङ्क्रमण दरसँग जुझ्न थप आर्थिक र प्राविधिक सहायता परिचालन गरेको जनाएको छन्।

स्वास्थ्य मन्त्रालय के भन्छ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रधानमन्त्रीले नै देश अप्ठेरो अवस्थामा रहेको, आपत्कालीन सहयोगहरू चाहिएको भन्दै अनुरोध गरेको र अवस्था चुनौतीपूर्ण रहेको बताए।

उनी भन्छन्, "हामीलाई अहिले निक्कै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन।"

उनले थपे, "त्यही भएर हामीले सबै विकास साझेदारहरूलाई अनुरोध गरेका हौँ। हामीले प्राथमिकताको आधारमा सामग्रीहरू उपलब्ध गराउन सूची तयार पारेर दिएका छौँ। यति गरेपछि सहयोग आउन थाल्छ भन्ने हाम्रो विश्वास हो।"

डा. अधिकारीले तत्कालै नियमित आपूर्ति प्रणाली कायम हुने गरी प्लान्टको व्यवस्थापनसहित कम्तीमा २०,००० थान अक्सिजन सिलिन्डर आवश्यक रहेको बताए।

सोमवार लेखिएको पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालहरूले दबाव झेलिरहेको भन्दै अत्यावश्यक औषधि, अक्सिजन र अन्य उपकरणको अभाव रहेको उल्लेख गरिएको छ।

के माग गरिएको छ?

उक्त पत्रमा अक्सिजन, आईसीयू र अन्य उपकरण, औषधिहरू, सङ्क्रमणको पहिचानसँग सम्बन्धित उपकरण, कोभिड खोप, पीपीई र अन्य सामग्रीहरू नेपाललाई उपलब्ध गराउन भनिएको छ।

सरकारी अनुरोधमा सातवटा अक्सिजन उत्पादन प्लान्ट, भ्यापराइजरसहितको १० वटा तरल अक्सिजन ट्याङ्क, प्रतिदिन २० टन तरल अक्सिजन र १० हजार वटा अक्सिजन कन्सेन्ट्रेटर ३० दिनभित्र उपलब्ध गराउन अपील गरिएको छ।

त्यसबाहेक ६०,००० थान अक्सिजन सिलिन्डर र ९०० थान भेन्टिलेटर उपलब्ध गराउन पनि आह्वान गरिएको छ। एक महिनाको अवधिमा प्रदेश र केन्द्रमा गरी २,००० आईसीयू बेड स्थापनाका लागि मद्दत गर्न भनिएको छ।

सरकारले १५ दिनभित्र २० लाखभन्दा बढी पीसीआर परीक्षण सामग्री र ११ लाख एन्टिजन परीक्षण सामग्री उपलब्ध गराउन पनि बाह्य विकास साझेदारलाई भनेको छ।

त्यसबाहेक प्राथमिकतामा पर्ने समूहका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भनिएको छ। सरकारी पत्रमा ३ करोड ७० लाख मात्रा खोप माग गरिएको छ।

सरकारले आफैँले भारत, चीन र रुस सहितका देशबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको भए पनि उक्त प्रयास कुनै निष्कर्षमा नपुगेको अधिकारीहरूले बताउँदै आएका छन्।

सहायता निकायहरूबाट सरकारले लाखौँको सङ्ख्यामा सर्जिकल मास्क, पन्जा, एन९५ मास्क, शरीर ढाक्ने गाउन, स्यानिटाइजर, फेसशील्ड र सुरक्षा चस्मासहितका सामग्री माग गरेको छ।

त्यसबाहेक अस्थायी अस्पतालका लागि १५० टेन्ट, अस्थायी जाँच केन्द्रका लागि १५० टेन्ट सीसीएमसीले माग गरेको र आठवटा कल सेन्टरका लागि उपकरणहरू उपलब्ध गराउन माग गरिएको छ।

अन्तर्राष्ट्रिय निकायहरूले प्रतिक्रिया कस्तो छ?

प्रधानमन्त्रीले सहायताका लागि अपिल गरेकै दिन न्यूयोर्कमा राष्ट्रसङ्घका प्रवक्ताले नेपाललाई थप सहयोग उपलब्ध गराउन थालिएको जनाएका छन्।

उनले अक्सिजन कन्सेन्ट्रेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको भन्दै छिमेकी भारतबाट हजारौँ मानिसहरू फर्किएका हुनाले सीमा अधिकारीहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरण युनिसेफ र आइओएमले उपलब्ध गराएको जनाएका छन्।

त्यसबाहेक सूचना, यात्रा सुझाव र स्वास्थ्य सन्देशहरूमा मद्दत गरेको भनिएको छ।

सरकारको पछिल्लो अनुरोधबारे दातृनिकायहरूले कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

अघिल्लो साता समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य उपकरणसहितका क्षेत्रमा मद्दत गर्न आग्रह गरेको थियो।

त्यसमा आफूहरू सघाउन तयार रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठनका प्रतिनिधिले बीबीसीलाई बताएका थिए।


Post a Comment

0 Comments