शत्रुले प्रहार गरेको मिसाइल ध्वस्त पार्ने आइरन डोम प्रणाली के हो

 


इजरेल र प्यालेस्टिनी लडाकुबीच हिंसा चर्किएपछि हमास र अन्य लडाकु समूहले इजरेली भूमितर्फ १,५०० वटाभन्दा बढी रकेट प्रहार गरेको इजरेली सेनाले बताएको छ।

तर तीमध्ये अधिकांश रकेटलाई इजरेलको "आइरन डोम" नामक प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको छ।

इजरेली अधिकारीहरूका अनुसार उक्त प्रणालीले ९० प्रतिशत सफलतासहित प्रहार गरिएका रकेटलाई आकाशमै ध्वस्था परिदिन्छ। त्यसो हुँदा सघन बस्ती भएका इजरेली सहरलाई जोगाउन सकिन्छ।

आइरन डोम प्रणालीले कसरी काम गर्छ?

'आइरन डोम'मा इजरेलभरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन्। त्यसका लागि इजरेलले अर्बौँ डलर खर्च गरेको छ।

इजरेलतिर प्रहार गरिएका रकेटहरूको अवस्थिति पत्ता लगाउन उक्त प्रणालीले रेडार प्रयोग गर्छ अनि तिनलाई निस्तेज पार्न दुईवटा अवरोधक क्षेप्यास्त्र प्रहार गर्छ।

यो प्रविधिले मानिसको बसोबास भएको क्षेत्रमा पुग्न सक्ने र लक्ष्यभेदन नगर्ने क्षेप्यास्त्र छुट्याउन सक्छ।

सहरतिर लक्ष्य गरेर प्रहार भएका क्षेप्यास्त्रलाई निसाना बनाएर तल झारिन्छ।

टाइम्स अफ इजरेल पत्रिकाका अनुसार एउटा अवरोधक क्षेप्यास्त्रको मूल्य डेढ लाख अमेरिकी डलर पर्छ।

यो प्रणाली कसरी बनाइयो?

दक्षिणी लेबननमा आधार बनाएर लड्ने हेज्बुल्लाह लडाकु समूहसँग सन् २००६ मा द्वन्द्व भएपछि इजरेलले यो प्रणाली विकास गर्न आवश्यक ठान्यो।

हेज्बुल्लाहले हजारौँ पटक रकेट आक्रमण गरेर इजरेलमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो।

त्यसको एक वर्षपछि इजरेलले राज्यद्वारा सञ्चालित राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्सले क्षेप्यास्त्र रोक्ने नयाँ "ढाल" बनाउने घोषणा गर्‍यो।

उक्त परियोजनाका लागि २० करोड डलरभन्दा बढी रकम उपलब्ध गराइयो।

केही वर्षको अनुसन्धान र निर्माणपछि सन् २०११ मा उक्त प्रणालीको वास्तविक प्रयोग भयो। दक्षिणी इजरेलको बीरशिबा नगरमा प्रहार गरिएको एउटा क्षेप्यास्त्रलाई त्यसले निस्तेज पारिदियो।

के यसका केही कमजोरी पनि छन्?

गाजाबाट प्रहार गरिएका रकेटका कारण इजरेलमा बालबालिकासहित केही मानिसको मृत्यु भएको इजरेली पक्षको भनाइ छ।

इजरेलले गाजामा हवाई आक्रमण गर्दा बालबालिकासहित दर्जनौँ मानिसको ज्यान गएको प्यालिस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

आइरन डोमले इजरेली नागरिकहरूलाई रकेट आक्रमणबाट जोगाएकोमा कुनै सन्देह छैन। तर यसले पूर्ण सुरक्षा दिन सक्दैन।

बीबीसीका परराष्ट्र मामिला विश्लेषक जोनाथन मार्कुसका अनुसार अहिले इजरेल र गाजास्थित लडाकुहरूबीच तनाव चुलिँदा आश्केलोन नगरको रक्षार्थ परिचालित एउटा एकाइ प्राविधिक समस्याका कारण काम नलाग्ने भएको छ।

भविष्यमा अरू शत्रुबाट आक्रमण भयो भने गाजाबाट प्रहार भएका ९० प्रतिशत रकेट रोक्न सक्ने क्षमता अपर्याप्त हुन सक्छ।

द जेरुसेलम पोस्टका एक वरिष्ठ पत्रकार योनाह जेरेमी बबका अनुसार हेज्बुल्लाहसँग थोरै समयमा धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ। त्यस्तो स्थितिमा आइरन डोमलाई सबै प्रहारलाई निस्तेज बनाउन कठिन हुन सक्छ।

तर प्रतिरक्षात्मक उपायभन्दा पनि हिंसा अन्त्य गरेर शान्ति कायम गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ।


Post a Comment

0 Comments