महामारीका बेला बिरामीको रेखदेख आफैँ गर्न परिवार बाध्य, कतिपयको घरमै मृत्यु


 मध्यरात हुन लागेको छ, जीतेन्दर सिंह शन्टीले कोरोनाभाइरसबाट मृत्यु भएका मानिसहरूको शव जलाएर फेरि अर्को दिन व्यतीत गरेका छन्।

उनी भारतको राजधानी दिल्लीका शवदाहगृह नजिकैको पार्किङ स्थलमा राति सुत्छन्। उनकी श्रीमती र दुई छोरामा पनि कोभिड-१९ देखिएपछि उनीहरू घरमै अलग्गै बसिरहेका छन्।

"आज हामीले १०३ वटा शवको सामूहिक दाहसंस्कार गर्‍यौँ। तीमध्ये ४२ वटा हामीले सहरका विभिन्न ठाउँका घरबाट बटुलेर ल्याइएको हो," उनले बीबीसीसँग फोन अन्तर्वार्तामा भने।

"सरकारको आधिकारिक तथ्याङ्कमा घरमा मृत्यु भएकाहरूको गणना हुँदैन... त्यसैले मृत्यु भइसक्दासम्म तीमध्ये धेरैले कोरोनाभाइरसको परीक्षणको नतिजा पनि पाइसकेका हुँदैनन्।"

यो सामग्री प्रकाशित गर्दासम्म भारतमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको आधिकारिक सङ्ख्या २,४०,००० नाघिसकेको छ। मृतकको सङ्ख्याको आधारमा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।

सरकारी तथ्याङ्कभन्दा मृतकको सङ्ख्या बढी भएको पुष्टि गर्ने प्रमाणहरू फेला परिरहेका छन्।

जीतेन्दर एउटा गैरनाफामुखी संस्थाका प्रमुख हुन्। उनको संस्थाले बेवारिसे अथवा आत्महत्या गरेका वा दुर्घटनामा ज्यान गुमाएका मानिसको शव जलाउन प्रहरीलाई सहायता गर्दै आएको छ।

अठार स्वयंसेवक रहेको उनको समूहले गत वर्ष महामारी सुरु भएदेखि नै कोरोनाभाइरसका कारण मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहायता गर्दै आएको छ।

"कोरोनाभाइरसको पहिलो लहरका बेला हामीले ९६७ वटा शव जलाउन मद्दत गरेका थियौँ। यसपटक हामीले त्यति सङ्ख्यामा शव त १५ दिनभित्रै जलायौँ," उनले भने।

"यसअघि कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू उमेर पुगेका मानिस थिए, यस पटक थुप्रै युवाहरूले ज्यान गुमाएको देख्दा चिन्ता लाग्छ।"

'घरमै मृत्यु'

जीतेन्दरले प्रत्येक दिन देशभित्र र बाहिरका मानिसले गरेका फोन उठाउँछन्। "आज बिहान मलाई क्यानडाको टोरन्टोबाट फोन आयो र ती अपरिचित व्यक्तिले हिजोदेखि मृतावस्थामा घरमै रहेका आफ्ना भाइको शव जलाउन मद्दत मागे," केही दिनअघि बीबीसीसँग कुरा गर्दै उनले भने।

"त्यसबाहेक के गर्ने भन्ने उनलाई कुनै उपाय सुझेन। असी वर्ष नाघेका उनका बुवा त्यही घरमा बस्छन्, तर राम्ररी आँखा देख्दैनन्।"

'सर्वसाधारण मानिससँग मर्नुबाहेक अरू विकल्प छैन'

भारतको राजधानी दिल्लीनजिकै रहेको उत्तरप्रदेश राज्य कोरोनाभाइरसबाट एकदमै प्रभावित छ। यही राज्यको जौनपुर जिल्लामा सुशील कुमार (नाम परिवर्तन) ले आफ्नी आमा गुमाए।

श्रीमती र छोरासहित उनको पूरै परिवार भर्खरै मात्रै कोरोनाभाइरसबाट निको भएका हुन् तर आमामा सुधारको कुनै सङ्केत देखिएन।

"उ‍हाँको अक्सिजनको मात्रा घट्दो थियो, अस्पतालमा शय्या पाउन अथवा घरमै उपचार गर्नका लागि अक्सिजन सिलिन्डर खोज्न तीन दिन बिताएँ," उनले भने।

"चौथो दिन सहायता खोज्न म निस्किएको थिएँ तर आमा घरमा बित्नुभएछ।"

देशैभरि मानिसहरूले अस्पतालमा शय्या, अक्सिजन आपूर्ति नपाउँदा ज्यान गुमाएका छन्।

"अधिकारीहरूले जिम्मेवारी लिइरहेका छैनन् केवल पन्छाइरहेका छन्। केन्द्रीय प्रणाली पनि छैन जसले बिरामीलाई शय्या उपलब्ध गराओस्।"

उक्त राज्यका मुख्यमन्त्री योगी आदित्यनाथमाथि कोरोनाभाइरसको सङ्कटलाई कम आकलन गरेको आरोप लागेको छ।

गत साता उनले आफ्नो राज्यका कुनै पनि अस्पतालमा अक्सिजनको कमी नभएको दाबी गरेका थिए।

सुशीलले आफ्नो व्यक्तिगत चिनजानका भरमा सरकारी अधिकारीहरूलाई पटकपटक फोन गरे। तर उनीहरूले प्रतिक्रिया दिन बन्द गरे।

"म यो सरकारलाई कहिल्यै माफ गर्नेछैन," सुशीलले भने।

"सर्वसाधारण मानिससँग मर्नुबाहेक अरू विकल्प छैन।"

'घरका लागि अक्सिजन पाउन कठिन'

औषधोपचारका लागि आपूर्ति कम हुँदै गएपछि केही परिवारहरू आफैँ किंकर्तव्यविमूढ अवस्थामा पुगेका छन्।

नन्दिनी कुमारले त्यसैले आफ्ना बुवालाई घरमै राखिन्।

"मेरो बुवालाई क्यान्सर भएको थियो, मस्तिष्काघात भएकाले गम्भीर बिरामी हुनुहुन्थ्यो र हालसालै उहाँ थला पर्नुभएको थियो। खचाखच भरिएका अस्पतालका शय्या ओगट्नुभन्दा घरमै ख्याल गर्ने कठिन निर्णय मैले लिएँ," उनले भनिन्।

"तर हामीलाई छिट्टै थाहा भयो कि घरमा अक्सिजन पाउन गाह्रो हुन्छ।"

श्वासप्रश्वासमा समस्या बढेपछि उनी सहायताका लागि अपरिचित व्यक्तिका पुगिन् र एउटा सिलिन्डर पाइन्।

"केही समयका लागि राहत भए भन्ने सोचेँ तर मैले त्यो केवल आठ घण्टाका लागि हो भनेर महसुस गरिनँ।"

अक्सिजनको नयाँ सिलिन्डर खोज्न वा पुरानै भर्न खोजिरहँदा ढिला भइसकेको थियो।

उनका बुवाको देहान्त भयो।

'मेरो परिवारले पनि यस्तो अवस्था भोग्नुपर्ने हुन सक्छ'

कोरोनाभाइरसका बिरामीको परिवारहरू सहायताका लागि नयाँ र पुराना चिनजानमा भर पर्नुपरेको छ, कालोबजारबाट उपचार सामग्री पाउनका लागि ठूलो रकम तिर्नुपरेको छ र हतारका बेला कसरी आपत्कालीन सेवा पाउने भनेर आफैँ उपाय पत्ता लगाउनुपरेको छ।

तर यी सबै थोक गर्दा पनि सफलता मिल्छ भन्ने कुनै ग्यारेन्टी छैन।

उत्तर प्रदेशमा कोभिड बिरामीलाई अक्सिजन दिने व्यक्तिविरुद्ध नै उजुरी

कोभिडबाट मृत्यु भएका व्यक्तिका लागि दिल्लीमा शवदाह स्थल अभाव

आफ्नै घरभित्र बसेर कोरोनाभाइरससँग कति मानिसहरू सङ्घर्ष गरिरहेका छन् भन्ने गणना छैन, कति मानिसको मृत्युको गणना भएको छैन भन्ने मात्रै अनुमानहरू भएका छन्।

अहिले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव बढिरहेको छ। आलोचकहरूले उनले वैज्ञानिकले दिएका चेतावनीको बेवास्ता गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीले अक्सिजन र औषधोपचारको पूर्वाधार बढाउने विषयमा छलफल गर्न बैठकहरू गरेको एप्रिल ३० मा बताएका थिए।

अक्सिजनको आपूर्तिका लागि रेल र सेनाका जहाजमाथि दबाव परेको छ। तर अति आवश्यक परेका ठाउँमा अक्सिजन पुगेको छैन।

मानिसहरू सामाजिक सञ्जाल प्रयोग गरेर आवश्यक सम्पर्क र अत्यावश्यक सामग्रीहरू परिवारसम्म पुर्‍याउन सहयोग गरिरहेका छन्।

अट्ठाइस वर्षीया तनु केही साताअघि कोरोनाभाइरसबाट निको भइन्। अहिले उनी सहयोगको याचना गर्ने फोन उठाउने र मानिसलाई सहयोग गर्न स्वयंसेवी भएकी छन्।

"मलाई एउटा खास घटनाले झस्कायो। ट्विटरमा छ महिनाकी एउटी गर्भवतीले मद्दत मागेकी थिइन्," उनले भनिन्।

"उनको अक्सिजन मात्रा कम थियो र दिल्ली अस्पतालमा उपचार पाउनका लागि उनको परिवार व्यग्र बनेको थियो। म र मेरा साथीहरूले अस्पतालहरूमा फोन गर्‍यौँ , तर उनलाई बचाउन सकिएन।"

"अहिले जस्तो अवस्था छ र जे भइरहेको छ मेरो परिवारका सदस्यहरू पनि यही अवस्थामा पुग्न सक्ने सम्भावना छ," उनले भनिन्।

"धेरै मानिसले ज्यान गुमाइरहेका छन्, तर त्यो कोरोनाभाइरसका कारण नभई स्वास्थ्य सेवाको कमीले हो। हामीले सरकारलाई उत्तरदायी बनाउनै पर्छ।"

Post a Comment

0 Comments