काठमाण्डू उपत्यकामा निषेधाज्ञा एक साता थप, पहिला जारी गरिएका सबै पास 'रद्द'

 


कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाण्डू उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका छन्।

यसअघि गत साता बिहीवार स्थानीय प्रशासनहरूले काठमाण्डू उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए।

यसपटकको निषेधाज्ञा थप कडा पारिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

"अबदेखि अत्यावश्यक खाद्यान्न किन्नका लागि बिहान ९ बजेसम्ममात्रै पसल खुला रहनेछन्, बेलुका पसलहरू खोल्न पाइनेछैन," उनले भने।

निषेधाज्ञामा पनि मानिसहरूको आवतजावत विगतको तुलनामा धेरै भएको भन्ने गुनासोका माझ कार्यालयको पास जाँचमा कडाइ गरिने उनले बताए।

उनका अनुसार अब कुनै पनि कार्यालयले एकचौथाइ कर्मचारीलाई मात्रै पास उपलब्ध गराएर काम गर्नुपर्नेछ।

केन्द्रीय ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि २० प्रतिशत कर्मचारी राख्न पाउनेछन् भने २५ प्रतिशतमात्रै शाखा कार्यालय खोल्न पाइने उनले बताए।

मङ्गलवार तीनवटै जिल्लाका प्रमुखहरू बसेर गरिएको निर्णयबारे भट्टराईले भने, "यसअघि जारी गरिएका सबै पास रद्द गरिनेछ।"

"अत्यावश्येकबाहेक अरूलाई पास जारी गरिनेछैन," उनले भने।


Post a Comment

0 Comments