कोभिड महामारीः नेपाल कुन दिशामा जाँदैछ, विज्ञ के भन्छन्

 


नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या दिनानुदिन बढिरहँदा स्वास्थ्य प्रणालीमाथि चर्को दबाव परिरहेको सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक औसत आठ हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्।

सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धिसँगै अक्सिजन दिनुपर्ने र आईसीयूमा राख्नुपर्ने बिरामीको सङ्ख्या पनि क्रमशः बढिरहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

गत दुई सातायता नै नेपालमा एक लाखभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाल कुन दिशामा जाँदैछ?

नेपालमा हालै गरिएको एउटा अध्ययनले कोरोनाभाइरस सङ्क्रमण दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११,००० नयाँ सङ्क्रमित देखिन सक्ने प्रक्षेपण गरेको छ।

सो अध्ययनअनुसार दैनिक ११,००० सङ्क्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात्‌ १,६०० बिरामी दैनिक भर्ना गर्नुपर्ने र अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्छन्।

मङ्गलवारकै दैनिक वृद्धि हेर्दा कुल २४ घण्टाको अवधिमा ९,४८३ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यसबीचमा अस्पतालको शय्यादेखि अक्सिजनसम्मको अभाव देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी स्वीकार्छन्।

समग्र अवस्था हेर्दा नेपाल महामारीको कुन दिशामा गइरहेको छ भन्ने प्रश्नमा सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात भन्छन्, "हामी अननोन ट्र्याजक्टरी [अनिश्चित बाटो] तर्फ गइरहेका छौँ।"

"हाम्रो स्वास्थ्य प्रणालीमाथि यसले एकदमै चुनौती थपिदिएको छ। ठूलो बाढी आएको बेला डुङ्गा नै नभए जस्तो भएको छ।"

पछिल्ला दिनमा देखिएको सङ्क्रमण दर र मृतकको सङ्ख्याले आउँदा दिनबारे सुखद सङ्केत नगरेको विज्ञहरूको ठम्याइ छ।

त्यस्तैमध्ये एक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला भन्छन्, "सङ्क्रमण अझै फैलिने डर छ। घरमा बसेका व्यक्तिहरू आफू सङ्क्रमित भएर अरूलाई सङ्क्रमित बनाइरहेका छन्।"

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अझ खराब दिन आउने आकलनमा सहमत देखिँदैन।

"धेरै मानिस सङ्क्रमित भएर निको भइसकेका छन्। कतिपयले कोभिड खोपको दुईवटै र केहीले एउटा मात्रा लिइसकेका हुनाले त्यस्तो दुर्दिन आउँछ जस्तो मलाई लाग्दैन,"उनले थपे।

रोकथाम तथा नियन्त्रणका उपाय के?

नेपालमा पछिल्लो समय सङ्क्रमण बढे थालेसँगै रोकथाम तथा नियन्त्रणको प्रयासमा अधिकांश स्थानीय प्रशासनहरूले निषेधाज्ञा लागु गरेका छन्।

हाललाई आन्तरिक तथा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडानहरूमा पनि सरकारले रोक लगाएको छ। प्रतिबन्धात्मक कदमहरूका बीच सङ्क्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन।

तर भाइरस १४ दिनसम्म शरीरमै 'लोड' रहिरहने भएकोले सङ्क्रमण दर अहिले उच्च देखिए पनि प्रतिबन्धात्मक कदमहरूको नतिजा बिस्तारै देखिन थाल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल दाबी गर्छन्।

गहिरिँदो सङ्कटलाई सम्बोधन गर्न जनस्वास्थ्य ऐनअनुसार स्वास्थ्य सङ्कटकाल लगाउनुपर्ने उनको सुझाव छ।

"त्यो लागु हुनासाथ सरकारी तथा निजी अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, विद्यालय लगायतलाई सरकारले प्रयोग गर्न पाउँछ।"

अनि सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीलाई मात्रै नभई निजी क्षेत्रका र मेडिकल कलेजका जनशक्तिलाई खटाउन सक्ने अधिकार राज्यमा आउँछ, "प्याकुरेल थप्छन्।

नियन्त्रणका उपायबारे उनको सुझाव छः "प्रतिबन्धात्मक कदमलाई निरन्तरता दिनुका साथै 'ट्रेसिङ्ग', 'टेस्टिङ्ग', 'कन्ट्याक्ट ट्रेसिङ्ग', 'ट्रिटमेन्ट' र 'टीम अप्रोच'को नीति लिएर अगाडि बढ्नुपर्‍यो।"

सत्तरी देखि ८० प्रतिशत नागरिकलाई खोप नदिएसम्म हर्ड इम्युनिटी हासिल हुन नसक्ने दाबी गर्दै समानान्तर रूपमा खोप दिने अभियानमा पनि तीव्रता दिनुपर्ने प्याकुरेल बताउँछन्।

"यी सबै कुराहरू गर्ने हो भन्ने दुई महिनाभित्र महामारी नियन्त्रण गर्न सकिन्छ," स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ प्याकुरेलले भने।

परीक्षणसँगै सङ्क्रमितको उपचारका लागि आवश्यक बन्दोबस्तीतर्फ राज्यले ध्यान दिनुपर्नेमा डा. बस्न्यात र डा. बास्तोलाको पनि जोड छ।

व्यवस्थापकीय अवस्था कस्तो छ?

कतिपय बिरामीले अक्सिजन र अस्पतालमा शय्या पाउन नसकिरहेका विवरण दैनिकजसो आइरहेका छन्।

काठमाण्डू उपत्यकाकै करिब एक दर्जन अस्पतालले अक्सिजन आपूर्ति हुन नसकिरहेको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने मङ्गलवार बताए।

मङ्गलवार नै एउटा भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले माग भएजति अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकारे।

शुरूमा अक्सिजन भए पनि सिलिन्डरको अभाव देखिएको बताइएको थियो भने अहिले सिलिन्डर हुँदाहुँदै तिनमा अक्सिजन भर्न नपाइएको निजी तथा सरकारी अस्पतालले जनाएका छन्।

प्रधानमन्त्री केपी शर्माले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि अपील गरेपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन, खोप र पीपीईलगायत सामग्री उपलब्ध गराउन विकास साझेदारहरूलाई आग्रह गरेको छ।

त्यसबारे मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, "हामीलाई अहिले निकै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा शय्या उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन।"

सहप्रवक्ता अधिकारीकै अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयहरूलाई सङ्घको तर्फबाट पर्याप्त परिणाममा एन्टिजन किट उपलब्ध गराउन सकिएको छैन।

पर्याप्त किट उपलब्ध नहुँदा जिल्लाहरूमा अपेक्षाकृत रूपमा एन्टिजन परीक्षण गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयहरू बीबीसी नेपालीलाई बताएका छन्।

देशकै अग्रणी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार उक्त अस्पतालले शय्या अभावमा कतिपय सङ्क्रमितलाई बाहिरै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

उक्त अस्पतालले आवश्यक सामग्रीको अभावमा पीसीआर परीक्षण पनि रोकिसकेको छ।

शय्या र आईसीयू कति छ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा हाल जनरल शय्याको सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ रहेको छ।

कोरोनाभाइरस महामारीपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

महामारीअघि जनरल शय्याको सङ्ख्या १४,८९६ थियो भने आईसीयूको सङ्ख्या १,१४८ र भेन्टिलेटरको सङ्ख्या ४४२ थियो।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ रहेको छ।

कोरोनाभाइरस महामारीपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

महामारीअघि जेनरल शय्याको सङ्ख्या १४,८९६ थियो भने आईसीयूको सङ्ख्या १,१४८ र भेन्टिलेटरको सङ्ख्या ४४२ थियो।

Post a Comment

0 Comments