केपी शर्मा ओलीः अल्पमतमा परेको तीन दिनपछि पुन: प्रधानमन्त्री नियुक्त

 


राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा फेरि केपी शर्मा ओली नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्रीको शपथ शुक्रवार अपराह्ण हुने जानकारी दिए।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको जनाएको छ।

ओलीलाई हटाएर नयाँ सरकार बनाउने विपक्षी दलको प्रयास विफल भएपछि ओलीनै प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको थियो।

गत सोमवार संसद्मा विश्वासको मत प्राप्त गर्न विफल बनेका ओली पुन: संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री बनेका हुन्।

संवैधानिक व्यवस्था

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले संसद्‍मा बहुमत जुटाउन नसकेपछि गत सोमवार संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी पार्टी मिलाएर बहुमत जुटाएर प्रधानमन्त्री बन्नसक्ने व्यवस्था अनुसार आउन दलहरूलाई आह्वान गरेकी थिइन्।

उक्त आह्वानपछि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहुमत जुटाउनका लागि माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेपालका सांसद्हरूसँग छलफल गरे पनि सफल भएको थिएन।

बिहीवार राति ९ बजेसम्मको समयमा बहुमत जुटाएर कुनै दल आउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६(३) आजै प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी हुन्।

उक्त धारामा ७६(२) अनुसार नभए सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने उल्लेख छ।

यसरी प्रधानमन्त्री नियुक्त भएका ओलीले अब धारा ७६(४) अनुसार एकमहिनाभित्र बहुमत सिद्ध गर्नुपर्नेछ। त्यो सफल नभए उनले राजीनामा दिनुपर्छ।

बहुमतको सरकार बनाउने नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको एउटा खेमाको प्रयास विफल भएको थियो।

सरकार दाबी गर्न नजानुको कारण

त्यो हुन नसक्नुको कारण माओवादी केन्द्रले एमालेकै माधव नेपाल पक्षको साथ पाउन नसक्नु रहेको ठानेको छ।

उक्त पार्टीका एकजना नेता नारायणकाजी श्रेष्ठले भने, "हामीलाई बहुमतको लागि थप सङ्ख्या चाहिन्थ्यो। त्यसका निम्ति एमालेभित्रकै माधवकुमार नेपालजीहरूले आफ्नो भूमिका रहने कुरा आश्वस्त गर्नु भएको थियो र उहाँहरूले जोड पनि गर्नुभएको थियो। तर अन्तमा आएर उहाँहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिल्नुभएको र यो प्रक्रियाबाट अलग हुनुभएको देखिएकोले नजाने निर्णय गर्‍यौं।"

बिहीवार करिब चार घन्टा ओली र नेपालबीच छलफल भएको थियो। उक्त छलफलपछि बोल्दै नेता नेपालले आफ्नो पक्षका नेताहरूले सांसद पदबाट सामूहिक राजीनामा दिने कुरा तत्काललाई टरेको बताएका थिए।

Post a Comment

0 Comments