कर्णालीमा कोरोनाभाइरसको सङ्क्रमण र मृत्युदर किन उच्च?


 गएको तीन सातामा कोरोनाबाट कर्णालीमा ८५ जनाले ज्यान गुमाएको साथै चार हजार भन्दा बढी सङ्क्रमित भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

पहिलो लहर सकिएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा, विदेशबाट आउनेको 'स्क्रीनिङ' नगर्दा, भारतमा दोस्रो लहर आउँदा सजग नहुँदा अहिलेको अवस्था सृजना भएको प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्का बताउँछन्।

"राजनीतिक दलका सभा, सम्मेलन, जुलुस, खुला सिमाना र लापरबाहीपूर्ण क्रियाकलापले सङ्क्रमण फैलियो", उनी भन्छन्, "अहिलेकै स्रोत, साधन र जनशक्तिले यसलाई थेग्न गाह्रो छ।"

लक्षण भएका, सङ्क्रमितको नजिकको सम्पर्कमा मा रहेका व्यक्तिको मात्रै स्वाब परीक्षण गर्ने गरिएकोले झन्डै ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने पनि उनले बताए।

सङ्क्रमण र मृत्युदर बढेपछि समुदायमा स्तरमा सङ्क्रमण फैलिसकेको हुन सक्ने आशङ्का गरिएको छ।

पछिल्लो समय कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिममा सङ्क्रमित सङ्ख्या धेरै छ।

सङ्क्रमण फैलिन नदिन कर्णालीका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरे पनि सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्यकर्मी बताउँछन्।

बिरामीको चाप 'थेग्नै गाह्रो'

सक्रिय सङ्क्रमितमध्ये ३८० जना अस्पतालको आइसोलेशन र ४,३२६ जनाले होम आइसोलेशनमा रहेर उपचार गरिरहेका छन्।

अस्पताल भर्ना भएका अधिकांश सङ्क्रमितको अक्सिजनको सहारामा उपचार भइरहेको स्वास्थ्यकर्मी बताउँछन्।

"लक्षण सहितका सङ्क्रमित दैनिक अस्पताल भर्ना भइरहेका छन्", प्रदेश अस्पताल सुर्खेतका कोभिड फोकल पर्सन डा. केएन पौडेलले भने।

"बिरामीको चाप यसरी नै बढ्ने हो भने अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्छ।"

उनका अनुसार प्रदेश अस्पतालमा अहिले अति सिकिस्त अवस्थाका दैनिक ८-१० जना बिरामी भर्ना हुने र ३-४ जनाको मृत्यु हुने गरेको छ।

कर्णालीका अस्पतालले अहिले जनशक्ति, आईसीयू शय्या र अक्सिजनजस्ता समस्या भोगिरहेका छन्।

कर्णालीमा अक्सिजन भण्डारण गर्ने 'प्लान्ट' नहुँदा अक्सिजन सिलिन्डर दाङ र नेपालगञ्जबाट ल्याउनुपर्ने बाध्यता छ।

दक्ष जनशक्ति नहुँदा कतिपय अस्पतालमा जडान गरिएका भेन्टिलेटर र आइसीयू सञ्चालनमा आउन सकेका छैनन्।

अस्पतालहरूमा अभावै अभाव

पालो दिने जनशक्ति, विद्युत्, अक्सिजन, औषधी, आइसोलेशन शय्याको अभावमा सेवा दिनु परिरहेको दुर्गमका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गुनासो गर्छन्।

रुकुम पश्चिमको चौरजहारी अस्पतालका प्रमुख डा. कालेब बुढा सीमित स्रोत साधनकै भरमा नियमितसँगै कोभिडका बिरामीलाई पनि उपचार गर्नु पर्ने अवस्था रहेको बताउँछन्।

अहिले नियमित र कोभिडको सेवा दिन एकदमै गाह्रो भइरहेको छ", उनी भन्छन्, "सीमित साधन स्रोतमा सिकिस्त बिरामीलाई केही गर्न नसक्दा दुःख लाग्छ।"

उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मी पालो लगाएर कोभिडका बिरामीको उपचार खटिएको बताउँछन्।

कर्णालीका हरेक अस्पतालमा कोभिडको उपचार गर्न छुट्टै समूह बनाइएको छ।


Post a Comment

0 Comments