थप ८८ सय जनामा कोरोना भाइरस सङ्क्रमण र ७८ जनाको मृत्यु पुष्टि

 


नेपालमा गत २४ घण्टामा थप ८,८५० जनामा कोरोनाभाइरस सङ्क्रमण र ५२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या ४,००० भन्दा बढी छ।

मन्त्रालयका अनुसार उसले थप २६ जनाको पनि कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ। यससँगै मृतकको कुल सङ्ख्या ७८ ले वृद्धि भएको छ।

अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्।

अहिले देशभरि ८८,००० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

सक्रिय सङ्क्रमितमध्ये ६,७३० जना संस्थागत आइसोलेशनमा र बाँकी ८१,००० जनाभन्दा बढी घरमै आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मन्त्रालयले गरेको प्रेस ब्रीफिङमा बताए।

अहिले देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा भएको उनले बताए।

सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु अनि शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।


Post a Comment

0 Comments