कोभिड नेपालः थप नौ हजारभन्दा बढीमा सङ्क्रमण, १३९ जनाको मृत्यु पुष्टि


नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले थप १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सोमवार पुष्टि गरेको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक भएको सरकारको तथ्याङ्कले देखाउँछ।

सरकारले सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु, मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरोनाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु, शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्रमण र ५३ जनाको मृत्यु र आइतवार ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा केही सातादेखि परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखिन्छ।

सङ्क्रमितहरू विभिन्न उमेर समूहका भए पनि २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

अहिले कोरोनाभाइरसबाट प्रभावित विभिन्न जिल्लामा निषेधाज्ञा वा अन्य प्रतिबन्धात्मक आदेशहरू जारी गरिएको छ।


Post a Comment

0 Comments