नाङ्गो आँखाले देखिने यो अद्भुत खगोलीय घटना


 ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।

जेठ २७ गते बिहीवार क्यानडा, ग्रीनल्यान्ड र रुसबाट वलय सूर्यग्रहण पूरा देखिँदैछ। युरोपका अधिकांश भाग, मध्यएशिया र चीनबाट भने उक्त ग्रहण आंशिक रूपमा देखिनेछ।

यसअघि जेठ १२ गते बुधवार खग्रास चन्द्रग्रहण परेको थियो।

पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त महासागरका विभिन्न क्षेत्र र अमेरिकी महादेशहरूबाट पूरै चन्द्रमामा ग्रहण लागेको देखिएको थियो।

"सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण," खगोलविद् ह्वाँ कार्लोस बीयामिन आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेख्छन्।

तर विधिगत रूपमा भन्नुपर्दा दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुने उनको भनाइ छ।

यहाँ तीन किसिमका ग्रहण र तिनका विभिन्न प्रकारबारे चर्चा गरिएको छ।

सूर्यग्रहण

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ। त्यसो हुँदा सूर्यग्रहण हुन्छ।

खग्रास सूर्यग्रहण

चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्नेगरी सीधा रेखामा ती तीन वटै परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ।

केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ।

नासाका अनुसार "खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव" हुन्छ। किनभने सूर्य चन्द्रमाभन्दा ४०० गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४०० गुना टाढा छ।

पृथ्वीमा चन्द्रमाको छाया पर्ने रेखालाई "पाथ अफ टोट्यालिटी" अर्थात् "पूर्ण छाया पर्ने मार्ग" भनिन्छ। त्यो सानो क्षेत्रमा पूरै अँध्यारो देखिन्छ।

त्यो मार्गको दुवै छेउमा हुने हजारौँ किलोमिटर लामो क्षेत्रमा ग्रहण आंशिक रूपमा देखिन्छ।

पूर्ण छाया पर्ने मार्गबाट जति टाढा भइन्छ चन्द्रमाले सूर्यलाई छेक्ने भाग पनि उति नै कम हुन्छ।

बीयामिनका अनुसार ग्रहण रहने अवधि सूर्यसँग तुलना गर्दा पृथ्वीको अवस्थिति, पृथ्वीसँग तुलना गर्दा चन्द्रमाको अवस्थिति तथा अनि पृथ्वीको कुन भागमा छाया पर्ने भन्नेमा निर्भर गर्छ।

"सिद्धान्ततः लामो सूर्यग्रहण सात मिनेट ३२ सेकन्डसम्म हुनसक्छ," चिलीका खगोलविद् बीयामिन भन्छन्।

सूर्यग्रहण त्यति दुर्लभ घटना भने हैन। डेढ वर्षजतिको अन्तरमा एउटा सूर्यग्रहण देखिन्छ। तर त्यही ठाउँबाट खग्रास सूर्यग्रहण देखिनु दुर्लभ घटना हो। झन्डै ३७५ वर्षपछि मात्र त्यस्तो अवसर आउँछ।

यो वर्ष डिसेम्बर ४ मा खग्रास सूर्यग्रहण छ। तर त्यसको पूरा दृश्य एन्टार्क्टिकाबाट मात्र देखिनेछ।

वलय ग्रहण

चन्द्रमा पृथ्वीबाट पर हुँदा सानो देखिन्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यलाई पूरा छेक्दैन।

त्यसैले चन्द्रमावरिपरि वलय अर्थात् बालाको आकारमा सूर्य देखिन्छ। यसलाई वलय सूर्यग्रहण भनिन्छ।

खग्रास सूर्यग्रहणमा जस्तै यसमा पनि बालाको जस्तो आकारमा ग्रहण देखिने मार्ग हुन्छ। उक्त मार्गको दुवै छेउमा आंशिक छाया पर्ने क्षेत्र हुन्छन्।

बिहीवार क्यानडाका केही भाग, ग्रीनल्यान्ड र रुसमा वलय सूर्यग्रहण देखिनेछ। तर युरोप, मध्यएशिया तथा चीनमा खण्डग्रास ग्रहण देखिनेछ।

नासाका अनुसार यस्तो प्रकारको ग्रहण प्रायः लामो हुन्छ। बालाको आकार १० मिनेटभन्दा बढी देख्न सकिन्छ।

तर अधिकांश बेला यो पाँच वा छ मिनेटमा सकिन्छ।

मिश्रित ग्रहण

एउटा विशेष परिस्थितिमा मिश्रित ग्रहण देखिन्छ।

बीयामिन भन्छन्: चन्द्रमा सूर्यलाई पूरा छेक्न सक्ने दूरीमा हुँदा यस्तो ग्रहण बन्छ तर अघि बढ्दै जाँदा चन्द्रमा पृथ्वीबाट केही पर पुग्ने र सूर्यलाई छेक्न छोड्ने अवस्थामा वलय ग्रहण बनिदिन्छ।

"यो वलय ग्रहणका रूपमा पनि सुरु हुनसक्छ अनि त्यसपछि झन्डैझन्डै खग्रास ग्रहणको अवस्थामा पुग्छ।"

खगोलको अध्ययन गर्ने संस्था आईएसीका अनुसार मिश्रित ग्रहण एकदमै दुर्लभ हुन्छ।

नासाको तथ्याङ्कका अनुसार सन् २०१३ मा यस्तो ग्रहण देखिएको थियो।

अर्को मिश्रित सूर्यग्रहण हेर्न सन् २०२३ को एप्रिल २० सम्म कुर्नुपर्नेछ। त्यतिबेला इन्डोनेशिया, अस्ट्रेलिया तथा पपुआ न्यूगिनीबाट यस्तो ग्रहण देखिनेछ।


Post a Comment

0 Comments