जलविद्युत् आयोजनामा 'अर्बौँ रुपैयाँको क्षति', उत्पादन रोकिँदा पनि कसरी टर्‍यो लोडशेडिङ


 यो वर्ष मनसुन सुरु हुनासाथ नेपालका विभिन्न भागमा बाढी र पहिरोका कारण निर्माणाधीन र सञ्चालनमा रहेका कैयौँ जलविद्युत् आयोजनामा क्षति पुगेको उत्पादक र अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार साना र ठूला गरी झन्डै डेढ दर्जन आयोजनामा निकै क्षति भएको छ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वाधारहरूमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको अधिकारीले जनाएका छन्।

ऊर्जा मन्त्रालयले क्षतिको विवरण लिने काम भइरहेको र क्षतिग्रस्त आयोजनाहरूलाई आवश्यक सहयोग गर्नेबारे छलफल भइरहेको बताएको छ।

क्षतिको अनुमान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले देशका विभिन्न भागमा निर्माणाधीन र सञ्चालनमा रहेका आयोजनाहरूमा बाढी र पहिरो पसेर करिब १० अर्ब रुपैयाँको क्षति भएको अनुमान गरेको छ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, "सानादेखि ठूलासम्म गरेर डेढ दर्जनजति आयोजनामा असर परेको छ। धेरैजसो दोर्दी करिडोर र मादी करिडोरमा धेरै क्षति भएको छ।"

"प्रवर्तकहरू जहाँजहाँ क्षति भएको छ त्यहाँ पुग्न सकिरहनुभएको छैन। प्रत्यक्ष त्यहाँ पुगेर आकलन गर्न सक्ने अवस्था अझै छैन। हामीले यो १० अर्ब भनेको मोटामोटी प्रारम्भिक हो, अझै बढ्न सक्छ।"

उनले निर्माणाधीन आयोजनाहरूमा उपकरण र सवारीसाधनहरू बगाउने, पुर्ने र निर्माणस्थल नै क्षतविक्षत हुने अवस्था देखा परेको बताए।

उनका अनुसार निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका आयोजनाहरूमा भौतिक क्षति पुग्दा विद्युत् आपूर्ति बन्द हुने र त्यसबापत आउने आम्दानी गुम्ने अवस्था आएको छ।

त्यस्ता कतिपय आयोजनाका पूर्वाधारमा पनि निकै क्षति पुगेको आचार्यले जानकारी दिए।

सरकारी पूर्वाधारमा पनि क्षति

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार बाढी र पहिरोका कारण प्राधिकरणका विभिन्न पूर्वाधारमा पनि क्षति पुगेको छ।

मनसुन सुरु हुनेबित्तिकै आएको बाढी र पहिरोले क्षति पुर्‍याउँदा कतिपय आयोजनाबाट विद्युत् आपूर्ति नै बन्द भएको थियो।

यद्यपि अहिले अधिकांश आयोजनाबाट पुन: उत्पादन सुरु भइसकेको उनले बताए। उनका अनुसार प्राधिकरणको प्रसारण लाइनमा भने निकै क्षति पुगेको छ।

त्यस्तै एउटा क्षतिको उदाहरण दिँदै उनले भने, "दोर्दी करिडोरमा रहेको १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न हुन लागेको थियो, चारवटा टावर तारसहित ढलेका छन्।"

"वितरण लाइनतिर पनि विशेषगरी गण्डकी र वाग्मती प्रदेशका विभिन्न स्थानमा धेरैवटा पोल ढालेको अवस्था छ।"

उनका अनुसार प्राधिकरणले बाढी र पहिरोका कारण कति क्षति पुग्यो भनेर त्यसको वित्तीय अनुमान गरिसकेको छैन।

तिम्सिनाले सबैतिरबाट विवरण सङ्कलन गरेर चाँडै कति मूल्य बराबरको क्षति भयो भन्ने निकालिने जानकारी दिए।

Post a Comment

0 Comments