आन्तरिक उडानहरू कहिलेदेखि खुल्लान्


 वायुसेवा सञ्चालक सङ्घ, नेपालले कोरोनाभाइरस सङ्क्रमण घट्न थालेको भन्दै आन्तरिक उडानहरू खोल्नुपर्ने माग गरेको छ।

सङ्घले विभागीय मन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा आउँदो असार १ गतेबाट आन्तरिक हवाई उडानहरू पुनः सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।

आन्तरिक उडान खुला गर्नुपर्ने मागबारे आफूहरू पनि सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू बताउँछन्।

"जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आन्तरिक उडानहरू अब शुरू गर्न सकिन्छ कि भन्ने विषयमा हाम्रो पनि एक किसिमको सकारात्मक धारणा रहेको छ र त्यो बारेमा हामीले मन्त्रालयमा छलफल पनि गरेका छौँ," नागरिक उड्डयन तथा हवाई महाशाखाका सह-सचिव बुद्धिसागर लामिछानेले बीबीसीसँग भने।

"तर त्यसअघि जोखिम र सुरक्षा लगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयदेखि सङ्क्रामक रोग विशेषज्ञसम्मका राय पनि हामीले बुझ्नुपर्ने हुन्छ।"

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले मन्त्रिपरिषद्‌लाई गर्ने सिफारिसका आधारमा सरकारले महामारीबीच उडान सञ्चालन तथा स्थगनबारे निर्णय गर्दै आएको छ।

"आन्तरिक उडानहरू पुनः सञ्चालन गर्नुपर्ने विषयमा हाम्रो मन्त्रालयको तर्फबाट सीसीएमसीमा औपचारिक प्रस्ताव लैजाने तयारी छ," सह-सचिव लामिछानेले भने।

कहिलेदेखि आन्तरिक उडानहरू सञ्चालनमा आउँछन् भन्ने विषयमा अहिले नै भन्न सक्ने अवस्थामा पुगी नसकेको उनले बताए।

"सैद्धान्तिक हिसाबमा ल यसो गरौँ भन्ने भएपछि आन्तरिक उडान तयारीका लागि दुई-तीन दिन भए पुग्छ," लामिछानेले थपे।

वायुसेवा सञ्चालक सङ्घ के भन्छ?

नेपालका वायुसेवा सञ्चालकहरूले आन्तरिक हवाई उडान सञ्चालनका लागि यसै साता नागरिक उड्डयन मन्त्रालयसमक्ष औपचारिक रूपमै आग्रह गरेका छन्।

"खोल्ने बित्तिकै महामारीभन्दा अघिको जस्तै यात्रुहरूको चाप हुने कुरा हुँदैन। अहिले धेरै जरुरी परेर मात्रै यात्रा गर्ने हुन्छन्," सङ्घका महासचिव मनोज कार्कीले बीबीसी न्यूज नेपालीसँग भने।

उडान तथा त्यसको तयारीका क्रममा जनस्वास्थ्यसम्बन्धी सबै मापदण्डहरू कडाइका साथ पालना गरिने भएकोले चिन्ता लिन नहुने वायुसेवा सञ्चालकहरूको तर्क छ।

यद्यपि कोभिड महामारीकै बेला विगतमा आन्तरिक उडानहरू खुला गरिँदा टिकट काउन्टरसहित विमानस्थलमा भद्रगोल देखिएकोमा व्यवस्थापन पक्षलाई लिएर व्यापक आलोचना भएको थियो।

धेरै सङ्क्रामक देखिएका कोरोनाभाइरसका नयाँ भेरिअन्टहरू नेपालमा पनि पुष्ट भइसकेको पृष्ठभूमिमा विशेष सावधानी नअपनाइएमा हवाई उडानहरू सङ्क्रमण फैलिने माध्यम बन्न सक्ने कतिपय जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले बताउने गरेका छन्।

टर्की, कतार र चीनका लागि अन्तर्राष्ट्रिय उडान शुरू

नेपालमा कोभिड महामारीको दोस्रो लहरबीच सङ्क्रमण उच्च दरमा बढ्न थालेपछि गत वैशाख तेस्रो सातादेखि आन्तरिक हवाई उडानहरू पनि बन्द छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सङ्क्रमण नियन्त्रण तथा रोकथामका निम्ति कडाइ गर्ने भन्दै मन्त्रिपरिषद्‌ले आन्तरिक उडानहरू स्थगित गर्ने निर्णय गरेयता उद्धार तथा कार्गो सेवाका लागि मात्रै सीमित उडानहरू हुँदै आएका छन्।

त्यसयता नेपाल सरकारले टर्की, कतार र चीनका लागि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने निर्णय गरे पनि चीनको हकमा सञ्चालनमा आउन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

टर्की र कतारसँग सातामा एक-एकवटा उडान भइरहेको छ भने त्यसभन्दा पहिलेदेखि काठमाण्डू-दिल्लीबीच पनि एक-एकवटा उडान हुँदै आएको छ।

Post a Comment

0 Comments