प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

 


विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक वर्षा हुने सम्भावना छ ।

मुलुकका अरु स्थानमा भने सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षा जारी रहेका कारण मुलुकका विभिन्न स्थानमा रहेका नदीमा बाढी आउने खतरा रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई सुरक्षित एवं सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

सुनकोसी, राप्ती, तिनाउ, बबई लगायतका नदीमा बाढीको जोखिम रहेको हो । केही नदीको बहाव खतराको सङ्केतसम्म पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेशका नदीहरुमा पनि बाढी आउने सम्भावना रहेको जनाइएको छ ।नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदी तथा कन्काई, कमला, वाग्मती, कोसी र यसका सहायक नदीमा बाढीको जोखिम मध्यम रहेको महाशाखाको भनाइ छ । तराई तथा पहाडी क्षेत्रमा भीषण वर्षा हुने सम्भावना रहेकाले बाढी एवं डुबानको जोखिम कायमै रहेको भन्दै उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा रहेको छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाको छ । बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ।

Post a Comment

0 Comments