जंगली हात्तीको फोटो खिच्न खोज्दा ... मोरङमा एक युवाको मृत्यु


विराटनगर / भारतबाट नेपाल छिरेको जङ्गली हात्तीको फोटो खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङमा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज (शुक्रबार) बिहान २१ वर्षे युवाको मृत्यु भएको हो । सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

राईका अनुसार बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेको थियो । गाउँमा आएका बेला धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ८:४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए । वडाध्यक्ष नुरुल मियाँका अनुसार भेला भएका स्थानीयले होहल्ला गरेर हात्ती धपाउन खोजेका थिए । त्यस क्रममा भाग्न खोजेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ । वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ ।

तर हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो पाउन सकेनन् । दौडिएर छेउमै आइपुग्दा पनि वरपर हिलो भएका कारण छलिएर भाग्ने मौका नपाउँदा हात्तीले मनोहरलाई आक्रमण गरेको मियाँले बताए । भारतमा मानवीय क्षति गरेपछि विराटनगर महानगरपालिका–१८ बुधनगरको भेडियारी हुँदै उक्त हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको जानकारी आएको प्रहरीको भनाइ छ ।

बस्तीमा छिरेर वितण्डा मच्चाउँदै मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको डीएसपी राईले बताए । स्थानीयको सहयोगमा प्रहरीले धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको छ । अरुलाई पनि आक्रमण गरेर क्षति गर्नसक्ने भएकाले हात्तीको वरपर जानबाट प्रहरीले सर्वसाधारणलाई रोकिरहेको छ ।

वन्यजन्तु विज्ञहरुले भने आक्रामक बनेर मान्छेमाथि आक्रमण गर्ने स्वभाव जङ्गली जनावरको हुने भएकाले नजिक जाने, लखेट्न खोज्ने र अवरोध पुर्याउने गर्न नहुने सुझाव दिएका छन् । डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले भीडभाड र होहल्ला गरेर तर्साउने एवं लखेट्ने गर्दा हात्ती आक्रामक बनेर मानवीय क्षति गराएको बताए ।

गाउँमा आएका बेला भीडभाड तथा होहल्ला गर्ने, छेउमा जाने, जिस्क्याउने र तर्साउने गर्दा आफूलाई असर परेको र अवरोध पुगेको ठानेर जङ्गली जनावर आक्रामक बन्ने उनको भनाइ छ । आक्रामक बन्दा क्षति बेहोर्नुपर्ने अवस्था आउने भन्दै उनले जङ्गली जनावरको बाटोमा कुनै पनि अवरोध गर्न नहुने सुझाव दिएका छन् । मानिसले विवेकपूर्ण नपुर्याइकन व्यवहार गर्यो भने जङ्गली जनावरबाट आक्रमणको सिकार हुनुपर्ने साहले बताए 

Post a Comment

0 Comments