विदेशबाट नेपाली श्रमिकले कहिलेबाट सहजै घर फर्किन पाउलान्


 कोरोनाभाइरस महामारीको अर्को लहर फैलिएको बेला खाडीका विभिन्न देश र मलेशियामा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फर्काउने काम अर्को हप्ताबाट सुरु गर्न सकिने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुखले बीबीसीलाई बताएका छन्।

कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकले बुधवार गरेको निर्णय मन्त्रिपरिषद्ले अनुमोदन गरेलगत्तै कार्यान्वयन गरिने बालानन्द शर्माको भनाइ छ। उनका अनुसार सातामा २,००० यात्रुभन्दा नबढ्नेगरी हवाई उडान सञ्चालन गरिनेछ।

शर्माका अनुसार सबै पक्षसँग समन्वय गरेर कामदारहरूलाई स्वदेश फर्काउने व्यवस्था प्रस्ताव गरिएको तथा अहिलेको निषेधाज्ञाको ढाँचालाई केही खुकुलो बनाउने तयारी भइरहेको छ।

यसअघि नेपालले चार्टर्ड उडानलाई मात्रै अनुमति दिँदा श्रम गन्तव्य देशहरूमा रोजगारीको अवधि सकिएका वा अरू विभिन्न कारणले अलपत्र परेका कामदारलाई स्वदेश फर्किन गाह्रो भएका विवरणहरू आएका थिए।

दुई साताअघि नेपालको नागरिक उड्डयन मन्त्रालयले चीन, कतार र टर्कीका विमानसेवालाई साताको एउटा उडानलाई अनुमति दिने निर्णय गरेको थियो। भारतसँग भने 'एअर बबल' व्यवस्थाअन्तर्गत उडानहरू भइरहेका छन्।

सीसीएमसीका प्रमुख शर्माका अनुसार मुख्यतः खाडी क्षेत्र र मलेशियामा रहेका नेपाली कामदारलाई लक्षित गर्दै यो निर्णय गरिएको हो।

निर्देशक समितिको निर्णयमा नेपाली श्रमिकहरू अधिक सङ्ख्यामा रहेका कतार, साउदी अरब, टर्की, यूएई, जापान र मलेशियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने उल्लेख छ।

ती देशबाट सातामा अधिकतम २,००० यात्रु ल्याउनेगरी उडान हुने भनिएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडानको सङ्ख्यामा वृद्धि हुनेबित्तिकै त्यसले श्रम गन्तव्यसँग जोडिएका यात्रुका सबालमा महत्त्वपूर्ण परिवर्तन गर्ने बताए।

“अहिले टर्की र कतारमा उडान भइरहेको भए पनि हाम्रो श्रमिकहरूसँग जोडिएका अन्य देशमा उडान भइरहेका छैन। मैले जानकारी पाएअनुसार हामीलाई साउदी अरब र मलेशियामा उडान गर्न कुनै समस्या छैन। त्यहाँ उडानहरू नियमित हुनेबित्तिकै धेरै सहज हुन्छ।”

उनले कोरोनाभाइरसको दोस्रो लहर देखाउँदै दुबईले नेपालबाट उडानको अनुमति नदिएको जानकारी दिए। दक्षिण कोरियामा अहिले पनि चार्टर्ड उडान भइरहेको उल्लेख गर्दै उनले नियमित उडान नभएको बताए। नेपाल वायुसेवा निगमबाट हुने जापानको उडान पनि केही अवरुद्ध छ।

Post a Comment

0 Comments