स्मार्ट लकडाउनबारे के भन्छन् विज्ञहरु ? पाकिस्तानमा गरिएको थियो यस्तो अभ्यास

 


सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट लकडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको हो ।

बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । संक्रमणको जोखिम रोक्ने रणनीति अवलम्बन गरेर अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्ति व्यवस्था सहज गर्ने निर्णय बैठकले गरेको थियो । अबको साता जारी लकडाउन कायमै राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो ।

महामारीबाट बच्न लकडाउन र निषेधाज्ञा पालना गरिसकेका जनताले अब लागू हुने ‘स्मार्ट लकडाउन’बारे अनभिज्ञता जाहेर गर्दै यसबारे चासो राख्न थालेका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जनस्वास्थ्यका मापदण्ड स्ट्रिक्ली लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने मोडालिटी नै ‘स्मार्ट लकडाउन’ भएको बताए ।

स्मार्ट लकडाउनमा भीडभाड कम हुने गरी बजार खोल्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने, कम संख्यामा सवारीका साधन गुडाउने लगायतका रणनीति समेटिएको उनले बताए । मोडालिटीबारे थप छलफल भइरहेको उनको भनाइ छ ।

विशेषतः कोरोना संक्रमण रोक्दै जनजीवनलाई विस्तारै पूर्ववत् रुपमा फर्काउन अपनाइने व्यवस्था स्मार्ट लकडाउनमा समावेश भएको उनको तर्क छ ।

सरकारले यसअघि काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० जना सक्रिय संक्रमित पुगे निषेधाज्ञा लगाउने मापदण्ड बनाएको थियो ।

स्मार्ट लकडाउनबारे के भन्छन् विज्ञहरु ?

भाइरोलोजिस्ट डा बासुदेव पाण्डेले मान्छेलाई कन्फ्यूज बनाउने काम मात्रै भएको बताउँछन् । संक्रमणको ‘चेन ब्रेक’ गर्ने उपाय अवलम्बन नगरी लागू गरिने स्मार्ट लकडाउनको अर्थ नहुने उनको तर्क छ ।

संक्रमणको चेन ब्रेक गर्नका लागि जोखिमयुक्त ठाउँमा कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गर्नुपर्ने, संक्रमित पहिचान गरेर आइसोलेट गर्नुपर्ने, संक्रमण पुष्टि भएकाहरुलाई उपचारको व्यवस्था गर्नुपर्ने, धेरैभन्दा धेरै नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुपर्ने कामलाई प्राथमिकतामा दिनुपर्ने उनको भनाइ छ ।

संक्रमणको चेन ब्रेक गराउनका लागि लकडाउन र निषेधाज्ञा मात्रै उत्तम विकल्प नहुने भन्दै उनले स्मार्ट लकडाउनबारे जनता अनभिज्ञ रहेको बताए ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले संक्रमणको जोखिम रहेको कुनै एउटा ठाउँलाई पाइलटिङको रुपमा प्रयोग गरेर लागू गरिएको भए प्रभावकारी हुने उनले बताए । पाइलटिङको रुपमा परीक्षण नै नगरी ल्याउन लागिएको नयाँ मोडालिटी स्मार्ट सिटी बनाउने सरकारी प्रोपोगाण्डा मात्रै भएको उनले बताए ।

संक्रमण रोक्नका लागि निषेधाज्ञा जारी गरेपछि खोल्ने रणनीति स्पष्ट हुनुपर्नेमा त्यस्तो नदेखिएको उनको तर्क छ । स्मार्ट लकडाउनको अर्थ संक्रमणको जोखिम कम हुने गरी धेरैभन्दा धेरै सेवा क्षेत्रहरु खुला गर्ने भनिएको हुन सक्ने उनले बताए ।

२० प्रतिशतभन्दामाथि संक्रमण देखिरहने जोखिम उच्च नै रहेको उनले अझै पनि सावधानी अपनाउनु पर्ने डा. मरासिनीले बताए ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणको जोखिम टरिनसकेको भन्दै पहिलो र दोस्रो लहरबाट जोगिन कसरी चुक्यौं भन्ने विषयमा व्यापक समीक्षा गरेर मात्रै अघिल्लो रणनीति तय गरिनुपर्ने बताए ।

पाकिस्तानमा गरिएको थियो यस्तो अभ्यास ?

पाकिस्तानले गत वर्ष कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउन थेग्न नसक्ने अवस्थमा पुगेपछि स्मार्ट लकडाउनको अवधारणा ल्याएको थियो । विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मानिसलाई चरम गरिबीबाट बचाउन पाकिस्तानले यस्तो लकडाउनको अभ्यास गरेको थियो ।

पाकिस्तानले ‘स्मार्ट लकडाउन’लाई कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइएको महत्वपूर्ण विधि भनेको छ । सुरक्षा निकायसँगको सहकार्यमा मानिसहरुलाई ट्र्याकिङ, ट्रेसिङ, परीक्षण र क्वारेन्टिनमा राख्नका लागि यस किसिमको लकडाउनको अवधारणा ल्याइएको थियो । यो योजनाअनुसार सुरक्षा मापदण्ड अपनाएर आर्थिक गतिविधि सञ्चालन गर्न पाइन्छ । तर, अन्य क्षेत्रमा लगाइएको लकडाउन भने कायमै रहन्छ ।

लामो समयको लकडाउनले व्यावसायिक लगायत आर्थिक क्षेत्रहरुमा समस्या देखिन थालेपछि त्यस्तो अनिश्चिततालाई थप बढ्न नदिन स्मार्ट लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको थियो ।

स्मार्ट लकडाउनका कारण दक्षिण एसियामा भारत, नेपालजस्ता मुलुकको अर्थतन्त्र कडा लकडाउनले ठप्प हुँदा पनि पाकिस्तानमा भने धेरै ठूलो असर देखिएन ।

स्मार्ट लकडाउनले अर्थतन्त्रलाई चलायमान राख्नुका साथै कोरोना संक्रमणलाई पनि केही हदसम्म नियन्त्रण गर्न सफल भयो । स्मार्ट लकडाउन सुरु गर्दा पाकिस्तानमा कोरोना संक्रमण व्यापक मात्रामा फैलिने आशंका थियो । तर आशंका गरिएअनुसार संक्रमण फैलिएन ।

Post a Comment

0 Comments