वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठित


 प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका क्रममा उत्पन्न विवादका विषयमा परेका रिट निवेदनमाथि हुने बहस र सुनुवाइका लागि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकृत देवेन्द्र ढकालले भने, "वरिष्ठताका आधारमा तोकिएको इजलासमा त्यसमा सुरुवाती क्रमका हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ हुनुहुन्न।"

पुनर्गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

वरिष्ठताका आधारमा हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ भएपनि कारणवस उनीहरू इजलासमा छैनन्।

यसअघि संवैधानिक इजलासमा चयन गरिएका न्यायाधीशहरूबारे मुद्दा हाल्ने पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि प्रधानन्यायाधीशले इजलास पुनर्गठन गरेका हुन्।

इजलासको विवाद के हो?

प्रतिनिधिसभा पहिलो पटक विघटन हुँदाको मुद्दामा पूर्व महान्यायाधिवक्ता समेत रहेका न्यायाधीश हरिकृष्ण कार्कीबारे विवाद भएपछि कार्की स्वयं इजलासबाट हटेका थिए।

त्यसबेला कार्की ओली सरकारको महान्यायाधिवक्ता भइसकेकाले सरकारविरुद्धको मुद्दामा बस्न नहुने कतिपयले जिकिर गरेका थिए।

विश्वम्भरप्रसाद श्रेष्ठ भने अस्वस्थताका कारण यस इजलासमा नबसेको बताइएको छ।

यस पटक न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे विवाद भएको थियो।

मुद्दा हाल्ने पक्षका वकिलहरूले न्यायाधीश श्रेष्ठले एमाले र माओवादी केन्द्र छुट्ट्याउने फैसला गरेको अनि न्यायाधीश केसीले त्यसको पुनरावलोकन अस्वीकार गरेको भन्दै ती मुद्दासँग अहिलेको मुद्दाको निकट सम्बन्ध रहेकोले उनीहरू इजलासबाट हट्नुपर्ने भनेका थिए।

तर दोस्रो पटक गरिएको विघटनका मुद्दामा पुनर्गठन हनुअघिको संवैधानिक इजलासमा रहेका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय प्रस्तुत गरिसकेका छन्।

त्यतिखेर मत विभाजन हुँदा उनीहरू यो मुद्दा र नेकपा विघटनको मुद्दा एक आपसमा जोडिएका हुन् र त्यसको पछिल्ला मुद्दासँग सम्बन्ध रहेको भन्ने राय व्यक्त गरिसकेका न्यायाधिशहरू हुन्।

जस क्रममा सोही इजलासमा रहेका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले समेत केसी र श्रेष्ठ सो मुद्दासम्बन्धी इजलासमा बस्न नमिल्ने बताएका थिए।

पुस ५ को विघटनविरुद्ध परेको मुद्दा हेर्न गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित तेजबहादुर केसी, अनिल सिन्हा, विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्ल (न्यायाधीश हरिकृष्ण कार्की हटेपछि राखिएको) थिए।

जेठ ७ को विघटनविरुद्ध परेको मुद्दा हेर्न गठित पहिलो संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए।

Post a Comment

0 Comments