विदेशी चलचित्र, भाषा र लुगामा प्रतिबन्ध लगाउने कडा कानुन

 


उत्तर कोरियाले देशमा हालै विदेशी प्रभाव कम गर्न भन्दै विदेशी चलचित्र वा लुगा वा विदेशी भाषाका तुक्का बोल्नेलाई कडा सजाय भएको कानुनहरू लागु गरेको छ।

किन यस्तो कानुनहरू लागु गरिएका हुन्?

युन मी-सोले ११ वर्षको हुँदा दक्षिण कोरियाली चलचित्रसहित पक्राउ परेका व्यक्तिलाई मृत्युदण्ड दिइएको देखेको बताउँछिन्।

मृत्युदण्ड सारा समुदायलाई हेर्न भनिएको थियो।

"यदि तपाईँले नहेरेको भए त्यो राजद्रोह हुन्थ्यो," सोलबाट उनले बीबीसीलाई बताइन्।

उत्तर कोरियाली सैनिकहरूले सबैलाई गैरकानुनी भिडिओ लुकिछिपी ल्याएमा हुने सजायको बारेमा जानकारी दिन चाहन्थे।

"म अझै पनि पट्टि बाँधिएको आँखाबाट आँसु बहिरहेको सम्झन्छु। मेरो मनमा त्यो आघात पुग्ने घटना थियो। पट्टि आँसुले भिजेको थियो।"

"उनीहरूले उसलाई बाँधे र गोली हाने।"

'बिनाहतियारको युद्ध'

कल्पना गर्नुहोस् कि तपाईँ नियमित लकडाउनमा हुनुहुन्छ, तपाईँसँग इन्टरनेट वा सामाजिक सञ्जाल छैनन् र टिभीमा राज्य नियन्त्रित केही च्यानल आउँछन् जसमा नेताहरूले तपाईँलाई सुनाउन चाहेका कुरा मात्रै बज्छन्। यो उत्तर कोरियाको जीवन हो।

र अब त्यहाँका नेता किम जङ-अनले यसलाई थप कडा बनाएका छन्। उनले 'प्रतिक्रियावादी सोच'विरुद्ध भनेर नयाँ कानुनहरू लागु गरेका छन्।

अब दक्षिण कोरिया, अमेरिका वा जापानका चलचित्रको ठूलो सङ्ख्यासहित पक्राउ परेकाहरूलाई मृत्युदण्ड दिइने छ। हेर्नेलाई मात्रै पनि १५ वर्षको जेल शिविर तोकिएको छ।

र ती कानुन हेर्ने कुरामा मात्रै सीमित छैनन्।

हालै किमले सरकारी मिडियामा एउटा पत्र लेख्दै युथ लीगलाई युवाहरूको 'एकाङ्की र असामाजिक व्यवहार'लाई नियन्त्रण गर्न भने। उनले 'खतरनाक विष' भन्दै विदेशी भाषा, कपाल काट्ने तरिका र लुगा रोकिनु पर्ने बताए।

उत्तर कोरियाभित्र स्रोत भएको सोलको अनलाइन पत्रिका डेली एनकेको समाचार अनुसार हालै तीन युवालाई के-पप गायकको जस्तो कपाल काटेको र पाइन्ट कुर्कुच्चोमाथि हुने गरी लगाएको आरोपमा पुनः शिक्षा शिविरमा पठाइयो। बीबीसीले यो कुरा पुष्टि गर्न सकेको छैन।

देशभित्र जनजीवन कठिन बनिरहँदा मानिसहरूसम्म बाहिरी खबरहरू नपुगोस् भन्ने किमले चाहेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

उत्तर कोरियामा लाखौँ मानिसहरूलाई दुई छाक राम्ररी खान नपुग्ने बताइन्छ। नेता किमले भने उनीहरूलाई एशियाको धनी सहर सोलको जीवनको झल्को नमिलोस् भन्ने चाहन्छन्।

गत वर्ष कोभिड महामारीका कारण सीमा बन्द गरिएपछि उत्तर कोरिया पहिलेभन्दा बाहिरी विश्वबाट छुट्टिएको छ। छिमेकी चीनबाट हुने अत्यावश्यक वस्तुहरूको आपूर्ति निकै कम भएको छ।

त्यहाँ हतियार कार्यक्रममा धेरै पैसा खर्च गर्ने शासकको चाहनाले अर्थतन्त्र असफल हुँदै गएको मानिन्छ। यो वर्षको सुरुमा किमले 'आफ्ना नागरिकहरूले सबैभन्दा गाह्रो अवस्था भोगिरहेको' स्वीकारेका थिए।

नयाँ कानुनमा के छ?

डेली एनके सो कानुनको विवरण प्राप्त गर्ने उत्तर कोरिया बाहिरको पहिलो सञ्चारमाध्यम हो।

त्यसका प्रधान सम्पादक ली साङ योङले बीबीसीलाई भने: "यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।"

उनले यो कानुनको उद्देश्य दक्षिण कोरियाको बारेमा त्यहाँका युवाले देख्ने सपनालाई तोड्नु हो।

"अर्को शब्दमा भन्नुपर्दा अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष हो।"

गत वर्ष उत्तर कोरियाबाट भाग्न सफल थोरैमध्ये एक चोई जङ-हुनले बीबीसीलाई भने: "जति असहज समय हुन्छ त्यति नै कडा नियम कानुन र सजाय हुन्छन्।"

"मनोवैज्ञानिक हिसाबले जब तपाईँ टन्न खाएर दक्षिण कोरियाली चलचित्र हेर्नुहुन्छ, त्यो मनोरञ्जन हुन्छ। तपाईँसँग खानेकुरा छैन र बाँच्न सङ्घर्ष गरिरहनु भएको छ भने त्यसले आक्रोशित बनाउँछ।"

के यसले काम गर्छ?

यसअघिका नियन्त्रणमुखी प्रयासले मानिसहरू चीनको सीमाबाट आउने विदेशी चलचित्र हेर्न कति सिर्जनात्मक हुन्छन् भन्ने कुराको उदाहरणहरू प्रस्तुत गरेका थिए।

उत्तर कोरियामा पेन ड्राइभ ढुङ्गा जत्तिकै भेटिने र त्यसमा नै चलचित्रहरू लुकिछिपी आउने बताइन्छ। पेन ड्राइभ लुकाउन पनि सहज र पासवर्ड राख्न पनि मिल्ने भएकोले त्यो प्रचलनमा रहेको बुझ्न सकिन्छ।

"तपाईँले तीन पटक गलत पासवर्ड हाल्नुभयो भने पेन ड्राइभका सबै कुरा मेटिने बनाउन मिल्छ। अझ संवेदनशील सामग्री छन् भने त एकै पटकको गलत पासवर्डले मेटिने बनाउन मिल्छ," चोईले भने।

युनले आफ्नो घरमा चलचित्र हेर्न कतिसम्म गरिन्थ्यो भन्ने कुरा बताइन्। उनले आफ्नो परिवारले कारको ब्याट्री मागेर त्यसको ऊर्जाले टेलिभिजन चलाएर दक्षिण कोरियाली चलचित्र स्टेरवे टु हेभन हेरेको सम्झिन्छन्।

चीनबाट सस्ता सीडी र डीभीडी आउन थालेपछि विदेशी चलचित्रको आकर्षण बढेको चोई बताउँछन्।

सन् २००२ मा विश्वविद्यालयमा छापा मार्दा करिब २०,००० सीडी जफत गरिएको चोई सम्झन्छन्।

"त्यो त एउटा विश्वविद्यालयमा थियो। देशभरि कति थियो होला अनुमान लगाउन सकिन्छ। सरकार छक्क परेको थियो। त्यसपछि उनीहरूले सजाय कडा बनाए।"

कसरी पक्राउ गरिन्छ?

किम गेम-होइकलाई सन् २००९ मा १६ वर्षको हुँदा गैरकानुनी भिडिओ साटफेर गर्ने व्यक्ति पक्राउ गर्न बनाइएको विशेष एकाइको सुरक्षाकर्मीले पक्राउ गरे।

उनले एक जना साथीलाई बुवाले चीनबाट लुकाएर ल्याएका दक्षिण कोरियाली सङ्गीतको सीडी दिएका थिए।

उनलाई सुत्न नदिई सोधपुछ गरियो। उनले आफूलाई चार दिन कुटिएको बताए।

"म त्रसित थिएँ," उनले सोलबाट भने।

"मलाई लाग्यो मेरो दिन सकियो। उनीहरू मैले सीडी कहाँबाट पाएँ र कति जनालाई देखाएँ जान्न चाहन्थे। मैले बुवाले चीनबाट ल्याएको भन्न सक्दिन थिएँ। मैले केही भनिनँ, खालि 'मलाई थाहा छैन, मलाई जान देऊ' भनेँ।"

आफ्नो परिवार उत्तर कोरियाका केही राम्रा परिवारमध्ये भएकोले बुवाले घुस खुवाएर आफूलाई छुटाएको उनी बताउँछन्। यो कुरा नयाँ कानुन लागु भएपछि असम्भव हुन्छ।

धेरै व्यक्तिहरूलाई पक्राउपछि श्रम शिविरमा पठाइयो तर यसले विदेशी चलचित्रप्रतिको आकर्षण कम भएन। त्यसैले सजाय कडा गरिएको बताइन्छ।

"सुरुमा एक वर्षको सजाय थियो। पछि तीन वर्षको बनाइयो। अहिले श्रम शिविरमा भएका आधाभन्दा धेरै युवाहरू विदेशी चलचित्र हेरेका आरोपमा त्यहाँ छन्," चोईले भने।

"यदि कसैले दुई घण्टाको विदेशी चलचित्र हेर्‍यो भने उस्ले तीन वर्ष श्रम शिविरमा बस्नु पर्छ। यो ठूलो समस्या हो।"

किन अझै आकर्षण?

"चलचित्र हेर्न हामीले धेरै जोखिम मोल्नुपर्छ तर हाम्रो रहरलाई केहीले रोक्न सक्दैन। हामी बाहिरी विश्वमा के भइरहेछ भनेर जान्न चाहन्थ्यौँ," गेम-होइकले भने।

उनको लागि आफ्नो देशको बारेमा जानेको तथ्यले जीवन परिवर्तन गर्‍यो। उनी चीनसम्म पढ्न आउन पाउने थोरै भाग्यमानीमा थिए जहाँ उनले इन्टरनेट देखे।

"पहिले त मलाई उत्तर कोरियाबारेको विवरणको विश्वासै लागेन। मलाई लाग्यो पश्चिमा मानिसहरू झुटो बोलिरहेछन्। म दोमन भएँ।"

"त्यसैले मैले उत्तर कोरियाबारे वृत्तचित्रहरू हेरेँ, धेरै पढेँ। र त्यसपछि मलाई थाहा भयो कि ती कुरा सत्य थिए।"

"यति भएपछि म फर्केर जाने कुरै थिएन।"

उनी सोल भागे।

युन मी-सो फ्याशन सल्लाहकारको रूपमा आफ्नो जीवन बाँचिरहेकी छन्। भागेर दक्षिण कोरिया आएपछि उनले गरेको पहिलो काम नै स्टेरवे टु हेभन भन्ने चलचित्रमा देखिएका सबै स्थानहरूको भ्रमण थियो।

तर उनीहरू जस्तो भागेर आउने कम भएका छन्।

अहिले कडा तरिकाले नियन्त्रित सीमामा भाग्न खोज्नेहरूलाई देख्ने बित्तिकै मार्ने निर्देशन छ। र नेता किमको नयाँ कानुनका अरू असर पनि देखिन्छन्।

आफ्नो परिवारलाई उत्तर कोरियामै छोड्नु परेका चोई भन्छन् एउटा वा दुइटा चलचित्र हेरेर दशकौँदेखि नियन्त्रित सोचलाई ठूलो प्रभाव पर्दैन। तर यसले सायद जे उत्तर कोरियाली सरकारले भनेको छ त्यो सत्य होइन कि भन्ने आशङ्का भने जन्माउँछ।

"उत्तर कोरियाली नागरिकहरूका मनमा गुनासो छ तर उनीहरूलाई त्यो गुनासो किन छ भन्ने थाहा छैन," चोईले भने।

"यो दिशाविहीन गुनासो हो। उनीहरूलाई त्यो गुनासो कसलाई सुनाउने भन्ने पनि थाहा छैन। कसैले उनीहरूलाई यो कुरा बुझाउनु पर्नेछ, उनीहरूलाई दिशा देखाउनु पर्नेछ।"

Post a Comment

0 Comments