निःशुल्क भनिए पनि कर्णालीका सरकारी अस्पताल सङ्क्रमितसँग औषधि र अक्सिजनको पैसा लिँदै


 सरकारले निःशुल्क भने पनि कर्णाली प्रदेशका केही सरकारी अस्पतालले कोरोनाभाइरस सङ्क्रमितको निःशुल्क उपचार नगरेको बिरामीका आफन्तले गुनासो गरेका छन्।

सबै निःशुल्क भनिए पनि आवश्यक औषधि र अक्सिजन बिरामी आफैँले किन्नु परेको उपचारपछि घर फर्किएका र अस्पतालमै उपचार गरिरहेका बिरामीका आफन्त बताउँछन्।

निःशुल्क भन्ने 'थाहै भएन'

औषधि र अक्सिजनका साथै बिरामीलाई चेकजाँच गर्न आउँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पञ्जासमेत बिरामी आफैँले किन्नु परेको जाजरकोटका हिरालाल रावलले बताए।

"अस्पतालले सिटामोल पनि निःशुल्क दिएन," उनले भने, "दश दिन राखेर बुवाको उपचार गर्दा औषधि र अक्सिजनमा मात्रै ४० हजार रुपैयाँ खर्च भयो।"

छिमेकी र गाउँलेसँग ऋण लिएर आफन्तको उपचार गराएका उनले सबै रकम तिर्न नसकेपछि केही रकम अस्पतालले छुट दिएको बताए।

प्रदेश अस्पताल सुर्खेतमा श्रीमतीको उपचार गरेका डिलाराम गौतमले पनि औषधि किन्न मात्रै ७०-८० हजार रुपैयाँ खर्च भएको बताए।

"अस्पतालकै फार्मेसीबाट औषधि किनियो," उनले भने, "सम्पूर्ण उपचार निःशुल्क हो भन्ने थाहा नै भएन। अस्पतालले थाहा दिएको भए हुन्थ्यो।"

दश दिन अस्पतालमा राखेर उपचार गरेपछि श्रीमतीलाई बचाउन नसकेको दुखेसो उनले पोखे।

श्रीमान्‌को उपचार गरेर घर फर्किएकी समृता गौतमले प्रदेश अस्पतालले बिरामीलाई खाना र खाजा मात्रै निःशुल्क दिएको भन्दै १३ दिन अस्पताल बस्दा औषधि किन्न मात्र ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको बताइन्।

Post a Comment

0 Comments