कुनै बेला लोप भएको ठानिएको यो माछा '१०० वर्षसम्म बाँच्न सक्छ'


 एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई 'लिभिङ फसिल' 'अर्थात् सजीव जीवावशेष' मानिन्छ।

सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो। तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ।

उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्गृहीत कत्लाको अध्ययन गरेका थिए।

उक्त माछाले आफ्नो जीवनको मध्यकालको अन्तिमतिर मात्र प्रजनन गर्छ। अनि गर्भधारण गर्ने समय पाँच वर्षसम्म हुन सक्छ।

बिस्तारै हुर्किने र थोरै सन्तान जन्माउने माछाहरू जलवायु परिवर्तन तथा धेरै माछा मार्ने प्रवृत्तिका कारण लोप हुने खतरामा परेका छन्।

फ्रान्सको यूनिभर्सिटी अफ मोङ्पोल्येका डा. ब्रुनो अर्नान्ड सीलक्यान्थको जीवनबारे थाहा पाउँदा संरक्षणका लागि बलियो उपाय अवलम्बन गर्न सकिने बताउँछन्।

"संरक्षणका लागि एउटा निकै महत्त्वपूर्ण ढाँचा भनेको यो प्रजातिका माछाको सङ्ख्या थाहा पाउन सक्नु हो," उनले बीबीसी न्यूजलाई भने।

"यो नयाँ जानकारीले त्यसमा हाम्रो पहुँच बढाउनेछ।"

Post a Comment

0 Comments