शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा

 


सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने कर्जाको सीमा बढाएर २५ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेपछि त्यसबारे चासोहरू व्यक्त भइरहेका छन्।

विशेषगरी शिक्षित बेरोजगार युवाहरूले उक्त कर्जाबारे सामाजिक सञ्जालमार्फत विभिन्न खालका प्रश्नहरू उठाएका छन्।

केहीले सरकारले घोषणा गरेको "सहुलियतपूर्ण कर्जा"लाई अनुदानजस्तो लिएर खर्च गर्न पाइने र तिर्नु नपर्ने भन्ने अर्थमा समेत लिएको देखिएको छ।

कतिपयले चाहिँ कार्यान्वयनमा शङ्का गरेका छन् भने कतिले "सत्ताधारीले कार्यकर्ता र नातेदारलाई बाँड्न" यस्तो व्यवस्था गरिएको भनेका छन्।

केही जानकारले केही वर्षदेखि नै लागु गरेको यो योजना "खासै सफल हुन नसकेको" भन्ने आम मानिसको "बुझाइ पनि गलत रहेको" बताएका छन्।

 केही पाठक र श्रोताले व्यक्त गरेका धारणहरू पनि शैक्षिक प्रमाणपत्र धितो राखेर पाइने कर्जाबारे थिए।

उनीहरूले यो व्यवस्था कार्यान्वयनमा शङ्का व्यक्त गरेका छन्।

ट्विटरमा तीर्थ अर्याल लेख्छन्, "आम जनताले शैक्षिक प्रमाणपत्र धितो राखेर ब्याङ्कले ऋण दिने कुरा पत्याउन सकेका छैनन्। यो कुरा नेता तथा मन्त्रीहरूको सिफारिसमा उनकै कार्यकर्ता र निकटका नातेदारलाई मात्रै सम्भव होला।"

त्यस्तै दीपेन्द्र लामिछानेले चाहिँ विगतमा पनि यस्तो घोषणा भएको र कर्जा पाउन समस्या हुने गरेको लेखेका छन्।

उनी लख्छन्, "विद्यार्थीको लोन सम्बन्धित कुरा विगत बजेटमा पनि बोलिएको थियो। ब्याङ्क पुगेपछि 'परिपत्र प्राप्त छैन' भन्ने सुनिन्थ्यो। यस्तो आफ्ना कार्यकर्तालाई मात्रै भरणपोषण गर्ने कार्यक्रम भएको बुझिन्छ।"

उता फेसबुकमा सुदर्शन भुसालले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने कुरा कानुनी रूपमा नमिलेको भन्ने धारणा व्यक्त गरेका छन्।

उनी भन्छन्, "प्रमाणपत्र लगेर देखाउँदैमा वा प्रमाणपत्र राख्दैमा कर्जा पाइने होइन। त्यो एउटा योग्यता हो। 'म युवा हुँ र मैले स्नातक गरेको छु र मेरो अहिले केही काम छैन' भन्ने प्रमाण हो।"

"काम गर्ने हो भने चाहिँ परियोजनाको विकास गर्नुपर्‍यो। त्यो परियोजनालाई ब्याङ्कले विश्वास गर्नुपर्‍यो।"

"ब्याङ्क र वित्तीय संस्थाहरूले प्रमाणपत्र राखेको भरमा पैसा दिने नभईकन प्रमाणपत्रधारीले व्यवसायको चित्तबुझ्दो प्रस्ताव पेस गरेको अवस्थामा त्यो व्यवसाय स्थापना गर्नका लागि आवश्यक कर्जा उपलब्ध गराउने हो।"

ढकालका भनाइमा कुनै पनि ब्याङ्कले प्रमाणपत्रलाई एउटा योग्यता माने पनि मुख्यतः परियोजनालाई हेरेर नै लगानी गर्छन्।

यसको अर्थ धेरैले बुझेजस्तो प्रमाणपत्रका आधारमा कर्जा पाइने होइन कि लगानी परियोजनाका आधारमा कर्जा पाइने हो र त्यसका लागि प्रमाण वा योग्यताका रूपमा प्रमाणपत्र धितो राखिने हो।

Post a Comment

0 Comments