अर्को सातादेखि भेरो सेल वितरण, यो चिनियाँ खोप कति प्रभावकारी


 चिनियाँ अनुदानमा प्राप्त भेरो सेल खोप अर्को सातादेखि लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार कोरोनाभाइरसविरुद्ध प्रतिरक्षा प्रणाली सुदृढ बनाउने उद्देश्यले उक्त खोप ६० देखि ६४ वर्षका नागरिकहरूलाई दिइनेछ।

आगामी मङ्गलवारदेखि भेरो सेल वितरण सुरु गरिने मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बीबीसीलाई बताए।

"चिनियाँ सरकारबाट हामीलाई १० लाख मात्रा खोप प्राप्त भएको छ," उनले भने। उनका अनुसार एक जनालाई दुई मात्रा लगाउनुपर्ने भएकाले १० लाख मात्राले पाँच लाख जनालाई लगाउन पुग्छ।

"हामीसँग पहिलेको केही मात्रा पनि बाँकी छ। त्यो सबै मात्रा मिलाएर हामीले राष्ट्रिय खोप कार्ययोजनानुसार ६० देखि ६४ वर्षमाथि उमेर समूहका मानिसहरूलाई लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय छ।"

अहिले नेपालमा उक्त उमेर समूहमा करिब साढे आठ लाखजति जनसङ्ख्या रहेको अनुमान छ।

त्यो उमेर समूहका सबैले खोप लगाउन आएमा खोपको मात्रा पुग्छ त? भन्ने प्रश्नमा डा. पोखरेलले भने, "अहिलेको अवस्थामा त्यो उमेर समूहका सबै खोप लगाउन खोप केन्द्रसम्म नआउन पनि सक्छन्।"

"हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई कोभिशील्ड खोप दिइसकिएको छ। अन्य कतिपय जिल्लामा पनि दिइएको छ। त्यसैले अहिले भएको खोपले पुग्ने हाम्रो अनुमान छ।"

Post a Comment

0 Comments