के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

 


यो साताको सुरुदेखि नै नेपालमा "भारतीय सेनामा नेपाली महिलाका लागि पनि भर्ती खुलेको" भन्ने दाबी गरिएको समाचारले ठूलो चर्चा पायो।

सुरुमा काठमाण्डूस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट जारी गरिएको भनिएको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

त्यसपछि कैयौँ अनलाइनहरूमा उक्त समाचारले स्थान पायो। अनि तिनै समाचारका आधारमा केही नेपाली नेता र विश्लेषकले पनि भारतीय सेनामा नेपाली महिलाको भर्तीबारे सार्वजनिक टिप्पणी गरे।

तर भारतीय सेनाले चाहिँ "नेपाली महिलाका लागि भर्ती नखुलाइएको" स्पष्ट पार्दै सूचना सच्याएको छ।

भारतीय सेनाको सूचनामा थियो?

भारतीय सेनाले गत मे २८ मा १०० जना 'महिला सैन्य प्रहरी'का लागि भर्ना खुलाउने सूचना निकालेको थियो।

भारतीय सेनाको 'जोइन इन्डियन आर्मी' वेबसाइटमा त्यो सूचना गत जुन ४ मा राखिएको देखिन्छ।

उक्त सूचनाको शैक्षिक योग्यता खण्डमा "सबै गोर्खाहरू (नेपाली र भारतीय) ले कक्षा १० सामान्य उत्तीर्ण" हुनुपर्ने उल्लेख छ।

सूचनामा उल्लिखित विवरणले कक्षा १० पास गरेका नेपाली नागरिक महिलाले पनि भारतीय सेनाको उक्त पदका लागि भर्ना हुन पाउने देखाएको थियो।

यद्यपि उक्त सूचनाबारे केही दिनअघिसम्म खासै चर्चा भएको थिएन।

यसै साता भूतपूर्व भारतीय गोर्खाहरू सदस्य रहेको "भूपू परिवार" नामक फेसबुक पेजसहित सामाजिक सञ्जालबाट नेपाली भाषामा लेखिएको एउटा सूचना सार्वजनिक भयो।

उक्त सूचनामा नेपाली नागरिक महिलाले भर्ना हुन पाउने भन्ने कतै उल्लेख थिएन तर त्यसमा योग्यतासम्बन्धी विवरणहरू दिइएको थियो।

भारतीय राजदूतावास कल्याणकारी शाखाको ब्यानरमा सार्वजनिक उक्त सूचनालाई आधिकारिक मान्दै धेरैले समाचार सम्प्रेषण गर्ने र सामाजिक सञ्जालमा शेअर गरेका थिए।

उक्त सूचना अहिले "भूपू परिवार" पेजमा देखिँदैन। त्यसलाई त्यहाँबाट हटाइएको छ।

गुगल सर्च गर्दा बीबीसीले 'गुगल क्याश'मा शनिवार अपराह्न यो सामग्री प्रकाशित गर्नुअघिसम्म पनि उक्त सूचना फेला पारेको छ।

उक्त सूचना प्रेषित भएपछि "नेपाललाई थाहै नदिईकन नेपाली महिलालाई भारतीय सेनामा भर्ना गर्न लागिएको" भन्दै कैयौँले सामाजिक सञ्जालमार्फत् विरोध जनाए।

कतिपयले चाहिँ नेपाली महिलाका लागि रोजगारीको अवसर भएको भन्ने तर्क पनि गरेका थिए।

तालिम केन्द्रले पनि गरे प्रचार

सोही सूचना र त्यसका आधारमा आएका समाचार हेरेर गोर्खा भर्तीमा जान चाहने युवाका लागि तालिम दिन खुलेका तालिम केन्द्र सञ्चालकहरूले "भारतीय सेनामा नेपाली महिलाको भर्ती खुलेको" भन्दै सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको छ।

बेरोजगार र विशेषगरी "लाहुरे बन्ने सपना" पालेका धेरै युवाहरूले यस्ता तालिम केन्द्रका सामाजिक सञ्जालहरू फलो गर्ने भएकाले उक्त समाचार केही बेरमै भाइरल बन्न पुग्यो।

भरपर्दो फेसबुक पेज र अनलाइनहरूका समाचारलाई आधार मानेर आफूहरूले भारतीय सेनामा नेपाली महिलाले भर्ना पाउनेबारे प्रचार गरेको तालिमकेन्द्र सञ्चालकले स्वीकारेका छन्।


Post a Comment

0 Comments