काठमाण्डू उपत्यकामा निषेधाज्ञा जेठ मसान्तसम्म थपियो, खाद्यान्न पसल बिहान खुल्ने


 कोरोनाभाइरस नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ।

तर निषेधाज्ञालाई 'केही खुकुलो' बनाएर थप गरिएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन्।

यसअघि खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरहरू बन्द गर्ने गरी निषेधाज्ञा लगाइएकोमा अब भने ती पसलहरू बिहान ९ बजेसम्म खुल्नेछन्।

बुधवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताए।

के-के खुल्ने भए?

भट्टराईले भने, "अब निषेधाज्ञा ३१ गतेसम्मका लागि पुगेको छ। तर पहिलेका केही नियम परिवर्तन भएका छन्। खाद्यान्न र किराना पसलहरू बिहान ९ बजेसम्म खुल्ने* र विकास-निर्माणका सामग्रीहरू राति ओसार्न पाइने र दिउँसो काम गर्न पाइनेछ।"

उनका अनुसार बुधवारै तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर त्यसबारे जानकारी दिने तयारी भइरहेको छ।

यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ २० गतेसम्म कायम गरिएको थियो

करिब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो।

उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो।

पछिल्लो हप्ता सङ्क्रमित हुनेहरूको सङ्ख्यामा 'केही कमी देखिएकाले' निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ।

तर अध्यादेशमा आधारित रहेर कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

Post a Comment

0 Comments