बिटकोइन रेमिट्यान्सका लागि उपयुक्त माध्यम हो

 


कानुनी रूपमै बिटकोइनलाई मुद्राको मान्यता दिने एल् साल्भाडोर पहिलो मुलुक बनेको छ। गत साता त्यहाँको संसद्‌को निर्णयपछि बिटकोइन अबको ९० दिनमा अमेरिकी डलरसँगै आधिकारिक मुद्रा बन्नेछ।

नयाँ कानुनका अनुसार सबै व्यवसायले सामान अनि सेवाका लागि भुक्तानीमा बिटकोइन प्रयोग गरिए त्यसलाई स्वीकार गर्नुपर्नेछ।

कारोबारका लागि प्रविधि उपलब्ध हुन नसकेको खण्डमा मात्रै त्यस्तो नगर्न पाइनेछ।

राष्ट्रपति नायीब बुकेलेले उक्त कदमले विदेशमा बस्दै आएका आफ्ना नागरिकहरूलाई विप्रेषण (रेमिट्यान्स) पठाउन सहज बनाउने बताएका छन्।

एल् साल्भाडोरजस्ता मुलुकका धेरै सर्वसाधारणहरू व्यापक रूपमा प्रवासी समुदायबाट पठाइएको रकममा भर पर्छन्। त्यसले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा झन्डै २० प्रतिशत योगदान गर्छ।

एल् साल्भाडोरका २० लाखभन्दा बढी मानिस देशबाहिर बस्छन्।

तर प्रत्येक वर्ष करिब चार अर्ब अमेरिकी डलर विप्रेषण पठाउँदै उनीहरूले आफ्नो मात्र देशसँग नजिकको सम्बन्ध राख्ने कार्य भने जारी नै राखेका छन्।

तर के बिटकोइन वा क्रिप्टोकरेन्सी विप्रेषणका लागि उपयुक्त साधन बन्न सक्ला त?

बिचौलिया हुँदैनन्

विप्रेषण पठाउनका लागि मानिसहरूले ब्याङ्क वा अन्य वित्तीय सेवा लिने गरेका छन्।

तर यी माध्यमको प्रयोग गरेर अर्को देशमा पैसा पठाउँदा लागत बढ्न सक्छ।

कसैले अमेरिकाबाट एल् साल्भाडोर १,००० अमेरिकी डलर पठाउँदैछ र यसमा "शून्य कमिशन'' सटही सुविधा छ भने पनि यथार्थमा कारोबारमा दुवै देशका ब्याङ्कहरूले केही शुल्क लिन सक्छन्।

बिटकोइन वा क्रिप्टोकरेन्सीको एउटा फाइदा के छ भने यो कारोबार बिचौलियामा आश्रित छैन।

परिणामस्वरूप बिटकोइन बिचौलियामा भर पर्न नचाहेका विपन्न राष्ट्र र व्यक्तिहरूका लागि आकर्षक हुन सक्छ।

क्रिप्टोकरेन्सीले पार्न सक्ने जोखिमबारे थाहा हुँदा समेत अवस्था यस्तो छ।

डभीर ग्रूपका प्रमुख कार्यकारी तथा संस्थापक नाइजल ग्रीनले भनेका छन्, "एल् साल्भाडोरले नेतृत्व लिएको छ, हामीले अन्य विकासशील राष्ट्रहरूले पच्छाउने आशा गर्न सक्छौँ।"

"त्यो किन भन्दा कम आय भएका राष्ट्रको मुद्रा कमजोर हुन्छ र बजारमा हुने परिवर्तनहरूका सन्दर्भमा उनीहरू अत्यन्त जोखिममा हुन्छन् जसले गर्दा मुद्रास्फीति बढ्छ।"

मूल्यको उतारचढाव

तर क्रिप्टोकरेन्सीका अवगुणहरू पनि छन्। तिनले एल् साल्भाडोरमा विप्रेषण प्राप्त गर्ने व्यक्तिमा प्रभाव पार्न सक्छ।

मूल्यको आधारमा हेर्दा बिटकोइनले सीमित समयमै ठूलो उतारचढाव देखाइसकेको छ।

अनि यसले कसरी काम गर्छ अनि यसमा के कस्ता जोखिम हुन्छन् भन्ने कुरा सबैले बुझ्दैनन्।

स्थापित भइसकेको ब्याङ्किङ क्षेत्रमा जस्तो यसमा बिटकोइनको मूल्यमा हुने उतारचढावबाट ग्राहकहरूलाई बचाउने कुनै संयन्त्र छैन।

लोकप्रिय हुँदै गएको भए पनि विश्वभरि बिटकोइन कारोबारकै लागि भने बिरलै प्रयोग हुन्छ।

बिटकोइन भएका मानिसहरूले बढी पैसा कमाउनका लागि क्रिप्टोकरेन्सी सञ्चय गरेर राख्छन्।

तर केही मानिसहरू चर्को महँगीबाट जोगिन क्रिप्टोकरेन्सी एउटा उपयुक्त सधन हुनसक्ने धारणा राख्छन्।

महामारीका बेला आफ्नो अर्थतन्त्र चलायमान रहिरहोस् भनेर कैयौँ प्रमुख शक्तिहरूले रकम छापिरहेका छन्।

मुद्राको परम्परागत रूप रहेको अवस्थामा धेरैभन्दा धेरै रकम छापिँदा बजारमा चल्तीमा रहेको रकमको मूल्य कमजोर हुन जान्छ।

मानिसहरूले यो अवस्थालाई ख्याल गर्दैनन् किनभने उनीहरूसँग रहेको रकमको मोल उस्तै नै रहन्छ।

तर साप्ताहिक किनमेल, घर बाहिरको खानपिन अनि चलचित्र हेर्दा लाग्ने खर्च बढ्दै गएको भने उनीहरूले महसुस गर्न थाल्छन्।

बिटकोइन भने फरक छ।

बिटकोइनको परिमाण २१ करोडभन्दा बढी कहिल्यै हुनेछैन। अनि प्रत्येक बिटकोइन आफैँमा १० करोड एकाइमा विभाजित हुन्छ जसलाई सातोशी भनिन्छ।

'साहसिक कदम'

"निस्सन्देह आलोचकहरू हुनेछन् - सम्भवतः धनी देशहरूमा आधारित - जसले एल् साल्भाडोरको साहसपूर्वक कदमको विरोध गर्नेछन्," ग्रीनले भने।

अमेरिकी अर्थमन्त्रीले यसअघि नै बिटकोइनलाई "कारोबार गर्ने अत्यन्तै नराम्रो तरिका" को सङ्ज्ञा दिएकी छन्।

उनले डिजिटल मुद्राको कारोबारका क्रममा लाग्ने "आश्चर्यजनक" ऊर्जाबारे पनि चिन्ता व्यक्त गरेकी छन्।

बिटकोइनले कति ऊर्जा खपत गर्छ भन्ने कुरा स्पष्ट छैन। यूनिभर्सिटी अफ केम्ब्रिज सेन्टर फर अल्टरनेटिभ फाइनान्शले गरेको गणनाका अनुसार बिटकोइनको ऊर्जा खपत वार्षिक रूपमा ४० देखि ४४५ टेरावाट आवरको बीचमा हुन सक्ने देखिएको छ। सम्भावित औसत खपत १३० टेरावाट आवर हुन सक्ने अनुमान छ।

आलोचकहरूका अनुसार ब्याङ्कहरूबाट गरिएको कारोबार पत्ता लगाउन सकिन्छ तर बिटकोइन भने अत्यन्तै धनीहरूका लागि कर छल्ने साधन बन्न सक्छ।

यसैबीच विश्वका अधिकांश केन्द्रीय ब्याङ्कहरूले आफ्नै डिजिटल मुद्रा बनाउने सम्भावनातर्फ हेरिरहेका छन् र चीनजस्ता मुलुकहरूले त केन्द्रीय स्तरमा नियन्त्रित संस्करण सुरु नै गरिसकेका छन्।

ब्याङ्कहरूले जारी गरेका डिजिटल मुद्रालाई सरकारले नियमन गर्ने गर्छन्। तर क्रिप्टोकरेन्सी भने केन्द्रीकृत शक्तिबाट नियमन हुँदैन।

राष्ट्रपति बुकेलेले यसअघि नै बिटकोइनको प्रयोगले ब्याङ्क खाता नभएका ७० प्रतिशत सर्वसाधारणका लागि वित्तीय सुविधाहरू खुला गर्ने बताएका थिए।

केही समयअघि भएको निर्वाचनअघि एउटा ट्वीट गर्दै उनले लेखेका थिएः "हाम्रो देशका लागि यसले वित्तीय समावेशीकरण, लगानी, पर्यटन, नवप्रवर्तन र आर्थिक विकास ल्याउनेछ।"

Post a Comment

0 Comments