कति बिदेशी कामदारले स्वदेश फर्किने इच्छा देखाएका छन्

 


सीसीएमसीका प्रमुख शर्माका अनुसार अहिले ५०० कामदारले आफैँ खर्च व्यवस्थापन गरेर घर फर्किने इच्छा देखाएका छन् भने करिब १,५०० जनाको भाडा र अन्य खर्च राज्यले बेहोर्नुपर्ने अवस्था छ।

त्यस्तो खर्च वैदेशिक रोजगार बोर्डअन्तर्गत रहेको कल्याणकारी कोषबाट गर्न सकिने बताइएको छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाली श्रमिक रहेका देशका नियोगमा उद्धार गर्नुपर्ने कामदारको विवरण र तथ्याङ्क सङ्कलन गर्न अनुरोध गरिएको बताए।

श्रम मामिलाबारे अनुसन्धान गर्ने सेन्टर फर द स्टडी अफ लेबर मोबिलिटीका अनुसन्धान संयोजक अर्जुन खरेलका अनुसार गन्तव्य देशहरूमा पहिलो लहरको महामारीमा जस्तो कठिन परिस्थिति नरहेकाले अहिले उद्धार पर्खिरहेका कामदारहरूको सङ्ख्या सानो हुनसक्छ।

सीसीएमसीको निर्देशक समितिले विभिन्न कारणले खर्च बेहोर्न नसक्ने कामदारका लागि होटेल क्वारन्टीनको लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि गरेको अधिकारीहरूले बताएका छन्।

कुल १५ दिन क्वारन्टीन बस्नुपर्ने र त्यसमध्ये १० दिनको खर्च राज्यले उपलब्ध गराउने भनिएको छ।

यसअघि खाडी देश र मलेशियाबाट फर्किएका कामदारहरूले पाँच दिन होटेल क्वारन्टीनमा बसेर कोभिड नभएको रिपोर्ट बुझाएर घर जान सक्ने उल्लेख गरिएको थियो।

सीसीएमसी प्रमुख शर्माले कोभिड परीक्षणको शुल्क र घर जानका लागि जिल्ला सदरमुकामसम्म यातायातको व्यवस्था पनि सरकारले गर्ने उल्लेख गरे।

‘स्मार्ट लकडाउन’ अन्तर्गत सङ्क्रमणको दर घट्दै गए बिस्तारै कुल सवारीसाधनमध्ये एकतिहाइलाई सञ्चालन गर्न दिनेसहितका विकल्प पनि सीसीएमसीले विचार गरिरहेको शर्माको भनाइ छ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले मन्त्रीस्तरीय निर्णयानुसार द्रुत प्रतिकार्य टोली गठन भएको र उद्धार गरिनुपर्ने कामदारहरूका लागि खटिन सरकारी संयन्त्र तयार भएर बसेको बताए।


Post a Comment

0 Comments